अन्योलमा ४ लेन सडक

अन्योलमा ४ लेन सडक

बिजौरी / पहिलो चरणमा सडक निर्माणको काममा द्रुत गति लिएको चारलेन सडक निर्माणको काम सुस्ताएको छ । कम्तिमा दुई हजार श्रमिकहरुलाई काम दिईरहेको निर्माण कम्पनीले अहिले एक सय श्रमिक पनि परिचालन गर्न सकेको छैन । निर्माणधीन संरचनाहरु अझै अधुरा देखिएका छन् । सिंचाइ कुलोको व्यावस्थापन देखि पर्खाल लगाइएका स्थानमा माटो फिलिङको काम समेत भएको छैन । त्यसै कारण चारलेन सडक निर्माणका सन्दर्भमा व्यापक जनगुनासोहरु आइरहेका छन् ।

चारलेन सडकको सम्झौता ३३ महिनामा सक्ने थियो । सहज वातावरण भएको अवस्थामा अठार महिनामै काम सक्ने तयारी निर्माण कम्पनीले गरेको थियो । तर किन कामले गतिशिलता पाउन सकेन । स्थानीय सरकार बेखबर छन् । राजनेताहरु बोल्दैनन् । विषयगत कार्यालयहरुले समेत आधिकारीक अभिव्यक्ति दिएका छैनन् ।

भारत सरकारको ९ करोड अमेरिकी डलरमा चारलेनको काम भईरहेको छ । निर्माणको जिम्मा भारतकै मुम्बई स्थित तथ्य इन्जिनियरीङ एण्ड इन्फ्राइष्ट्रक्चर कम्पनीले लिएको छ । कहिँकतै अष्ठभैरव कम्पनीको नाम जोडिए पनि त्यो आधिकारीक होइन । निर्माण सम्झौता कम्पनीका स्थानीय प्रतिनिधि जनक डाँगी छन् । उहाँ पनि निर्माण रोकिएकोमा तनावमा छन् । ‘काम गर्ने सहज व्यवस्थापन राज्यका निकायहरुले गरेको अवस्था छैन, त्यसैले चाहेको अनुरुप काम गर्न सकिएको छैन ।’

‘पहिलो चरणमा धेरै काम ग¥यौ, तर रुख हटाउने र विद्युत पोल सार्ने विषयमा राज्यका निकाय गम्भीर भएका छैनन्, सडक चाँडै निर्माण होस् भन्ने सवालमा स्थानीय सरकार पनि गम्भीर देखिएको अनुभूति भएन’, भने । उनको भनाइमा सडक निर्माण क्षेत्रमा कल्भर्ट निर्माण लगायतका सबै काम सम्पन्न भईसकेको छ । माटो फिलिङ गर्ने काम पनि भईरहेको छ । यद्यपि एकमुष्ट रुपमा काम गर्न पाएपछि सबै श्रमिकहरुलाई परिचालन गर्न समेत सकिने उनको अभिव्यक्ति थियो । विभिन्न आरोह र अवरोहबीच काम भईरहेको बताउंदै निर्माण कम्पनीका प्रतिनिधि डाँगीले घोराही उपमहानगरपालिकाबाट नदीजन्य पदार्थ उपलब्ध गराउने सवालमा सहयोग नभएको पनि अभिव्यक्ति दिए । निर्माण कम्पनीका प्रतिनिधिहरुले यसो भनिरहँदा चारलेन सडक निर्माणमा किन ढिलाइ भयो भन्ने सवालमा स्थानीय नागरिकहरु भने बेखबर रहेका छन् । कसले रोक्यो चारलेन ? आम जिल्लाबासीको यही गुनासो छ ।
तर पनि जिम्मेवार निकायहरु बेखबर भएको अवस्थामा विकास निर्माणको कामले गतिशिलता पाउन नसकेको निर्माण व्यवसायीको गुनासो छ । तत्काल राइटअफ वे क्लियर गर्ने र काम गर्नका लागि नदीजन्य पदार्थ उपलब्ध गराउने सवालमा स्थानीय सरकार उदार भए तोकिएको समयभन्दा पनि चाँडै काम सम्पन्न गर्ने स्थानीय प्रतिनिधि डाँगीले बताए ।

तर जिल्ला वन कार्यालय भने यो विषयमा उदार देखिएको छ । सडकको राइटअफवेमा रहेका रुख काट्नका लागि स्वीकृति दिइसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘हामीले रुख काट्न अनुमति दिइसकेका छौं, तर काम किन रोकियो सडकलाई सोध्नुस्’–डिभिजन वन कार्यालय घोराहीका प्रमुख दिपक गौतमले भने ।

रुख हटाउने काम एक साताभित्रैः परियोजना
यसैबीच चारलेन सडक परियोजनाका इन्जिनियर पारस हमालले भने सडक निर्माण तोकिएको समयमै सम्पन्न हुने बताए । यो परियोजनामा बजेटको समस्या नहुने र अन्य सरकारी निकायका संरचना समेत तोकिएको समयमै हटाउने अभिव्यक्ति दिए । ‘हामीले वन विभागमा फाइल लगिसकेका छौं, एक सातामै रुख हटाउने काम हुन्छ’ हमालले भने, विद्युत पोल सार्ने विषयमा समेत छलफल अन्तिम चरणमा पुगेको छ ।

विद्युत पोल सार्ने विषयमा परीयोजनालेनै इस्टिमेट बमोजिमको फाइल अगाडि बढाउने प्रक्रियामा रहेको पनि हमालको भनाइ थियो ।

सम्बन्धित खवर