पथरीमा पनि आइसोलेसन वार्ड बनाउने

पथरीमा पनि आइसोलेसन वार्ड बनाउने

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसबाट जोगिने सतर्कताका लागि सोमबार छलफल गरेको छ । छलफलका क्रममा विस्तारै नगरमा कोरोनाबाट बच्नका लागि आइसोलेसन वार्ड समेत निर्माण गर्ने छलफल भएको छ ।

नगरपालिकाले कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठक बसी कोरोनाबाट जोगिन होसियारी अपनाउन नगरवासीलाई समेत अनुरोध गर्ने निर्णय पनि भएको छ । जस अनुरुप नेपालीको नमस्कार संस्कृतिलाई अंगाल्दा धेरैहदसम्म भाइरस सर्नबाट जोगिने भएकाले हात नमिलाउन सवैलाई आग्रह गर्ने निर्णय भएको नगर प्रमुख दिलीपकुमार राईले वताउनु भयो । उहाँले कोरोनाबाट बच्न नगरमा आवश्यक सतर्कता अपनाउँदै क्यारेन्टाइन र आइसोलेसनको व्यवस्था समेत गर्दै जाने उल्लेख गर्नुभएको छ ।

साथै उहाँले डेंगु रोग नियन्त्रणका क्रममा नगरमा बनेको र्यापिट रेन्पोन्स टिमलाई यसबेला सक्रिय बनाउने र त्यस प्रकारका विरामी फेला परे नगर अस्पतालमार्फत सम्वन्धित अस्पतालमा रेफर गरिहाल्ने योजना बनाएको जानकारी गराउनु भयो । पथरी नगर अस्पतालको २ बेडलाई कोरोना आशंका हुने विरामीका लागि छुट्याइएको पनि वताउनु भयो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पनि सवैको सहकार्यमा कोरोना विरुद्ध जुट्न आव्हान गर्नुभयो ।

नगरको नगरपालिका कार्यालयको साथै अन्य संस्थाका एक्बुलेन्सहरुलाई तैनाथीको अवस्थामा रहन अनुरोध गर्ने तथा अति जरुरी नपरी स्वास्थ्यकर्मीलाई विदा नदिने समेत निर्णय गरिएको छ । दैनिक रुपमा कोरोनाको संक्रमणको अवस्थाका बारेमा बुझ्ने र त्यसको समीक्षा गर्ने तथा नगरवासीलाई विभिन्नखाले त्रास फैलाउने सूचनाको भ्रममा नपर्न समेत आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

कार्यक्रममा सहजिकरण गर्दै पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावन मेहताले कोरोना भाइरस, त्यसले पार्ने हानी तथा बच्ने उपायका बारेमा जानकारी गराउनु भयो । साबुनपानीले राम्ररी हात धुने, मास्कको प्रयोग गर्ने, हात नमिलाउने, १ सय डिग्रीभन्दा बढी ज्वरो आएमा तुरुन्त चेक गराउने, ज्वरो आएका विरामीहरुले साझा सामान प्रयोग नगर्ने, भिडभाडमा नजाने सहितका सतर्कता अपनाउन आवश्यक रहेको जनाउनु भयो । परिवारका सदस्यमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएमा अलग्गै बस्ने र तत्काल अस्पताल जानुपर्ने पनि उहाँले बताउनु भयो ।

कोरोनाको सचेतताका लागि प्रत्येक वडा कार्यालयल र विद्यालयहरुमा जानकारीमुलक फ्लेक्स वितरण गर्ने र आवश्यकता अनुसारको जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्ने समेत छलफलले निर्णय गरेको छ । नगरमा रहेका सञ्चारमाध्यमहरुबाट कोरोनाको सचेतनाको सन्देश फैलाउने काम भनें नगरले गरिरहेको छ । एसइइ बाहेकका सवै परीक्षा चैत ५ गतेसम्म सम्पन्न गर्ने संघले गरेको निर्णयलाई नगरले पालना गरेको छ ।

१ नम्वर प्रदेशमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अञ्चल अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर सहितका अस्पतालमा सरकारले कोरोनाको आइसोलेसन उपचार कक्षको प्रवन्ध गरेको छ ।

सम्बन्धित खवर