नगरको विकास निर्माणका काममा चरम लापरवाही

नगरको विकास निर्माणका काममा चरम लापरवाही

पथरी, पथरी शनिश्चरे नगरपालिका भित्र निर्माण भएका विकास निर्माणका काममा लापरवाही हुने गरेको अनुगमन समितीले बताएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजनमा रहेको अनुगमन समितीले गरेको अनुगमनमा विकास निर्माणका कार्यमा लापरवाही भेटिएको नगरका सुचना संयोजक भुपेन्द्र तिम्सीनाले जनाएका छन् ।

तिम्सीनाका अनुसार नगरमा भएका विकाश निर्माणमा ठेकेदारले चरम लापरवाही गरेकाले उपप्रमुख वास्तोलाले कतिपय निर्माण भएका संरचना समेत भत्काएर नयाँ बनाउन लगाइएको छ । ठेकेदार र उपभोक्ता समितीले विकाश निर्माणका काममा लापरवाही गर्दा बन्दै गरेका संरचना गतिलो नबनेको अनुगमन समितीले ठहर गरेको तिम्सीनाले जानकारी दिए ।

वडा नम्वर ८ को विसविघे समालडाँडा तथा नेम्वाङ होली बाटोको स्तरोन्नती, वडा नम्वर ९ को सिरिजंगा आधारभूत विद्यालयको पर्खाल निर्माण, ९ कै हाटखोला पश्चिम अमि शंकरको घर दक्षिण पिपलचोक सम्मको बाटो स्तरोन्नती, वडा नम्वर ६ कल्भर्टको निर्माणमा चरम लापरवाहि भएको अनुगमनमा संम्लग्न जनप्रतिनिधीले बताएका छन् ।

यस्तै ९ नम्वरको मणिकुमार तामाङको घरदेखि काङसोरे चोक निस्कने बाटोको स्तरोन्नतीका ग्राभेल कार्यमा अनियमीतता भएको आशंका अनुगमन समितीले गरेको तिम्सीनाले जानकारी दिए । यस्तै वडा नम्वर ५ स्थित अमरसिंह मावि पश्चिम झोलुङ्गे पुल जाने बाटो ग्राभेल र ९ को उदय मादेनको घर हुँदै दिलिप ओख्राबुको घरसम्मको बाटो स्तरोन्नतीको कार्यमा पनि लापरवाहि भएको उपप्रमुख वास्तोलाको टोलीले वताएको छ ।

ठेकेदार र जनप्रतिनिधीकै मिलोमत्तोमा विकास निर्माणमा चरम लापरवाही हुने गरेको गुनासो स्थानियवासीले राख्दै आएपनि अनुगमन समितीले सो बारे आफ्नो धारण बाहिर ल्याएको हो ।

सम्बन्धित खवर