जनकपुर : प्रदेश २ को नामाकरण विषयमा प्रमुख प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश नामको पक्षमा ३७ मत प्राप्त भएको छ ।
गोप्य मतदानमा उक्त प्रस्तावमा ३७ मत खसेको सभामुख सरोज कुमार यादवले जानकारी दिए । उनका अनुसार नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश नाम अस्वीकृत भएको छ ।
नाम स्वीकृतका लागि दुई तिहाई (७२) मत आवश्यक थियो । नेकपाको कुल ३२ सांसद मात्र छन् । तर अन्य दलका ५ सांसदले समेत नेकपाको प्रस्तावमा मत खसाएका छन् ।
अब कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्ष/विपक्षमा मतदान हुनेछ । त्यसपछि सत्तारूढ समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेस’ र केहि सांसदले प्रस्ताव गरेको ‘मध्य मधेस’ नामको पक्ष/विपक्षमा मतदान हुनेछ ।
यस्तै आजै राजधानीको विषयमा पनि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।