कालोबजारी बढ्दै ः स्टकमा सामान हुँदाहुँदै पनि बजारमा अभाव

कालोबजारी बढ्दै ः स्टकमा सामान हुँदाहुँदै पनि बजारमा अभाव

नेपाल आयाल निगम क्षेत्रीय कार्यालय विराटनगरसँग ३ सय १६ किलोलिटर पेट्रोल स्टक छ। निगमसँग ६ हजार ३ सय १० किलोलिटर डिजेल र ६ सय ३२ किलोलिटर मट्टितेल मौज्दातमा छ। आइतबारबाटै सुनसरी मोरङका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बिक्री बन्द गरिएको छ।

अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ नभएको सूचना टाँस गरिएको छ। आयल निगमले बजारमा अहिले पनि प्रसस्तै ग्याँस रहेको दाबी गरेको छ। निमित्त क्षेत्रीय प्रमुख चित्तरञ्जन दासका अनुसार कोशी ग्यास ८ सय ३८ दशमलव ५२ मट्रिकटन अर्थात ५९ हजार सिलिण्डर, सुविधा ग्यास ३ सय ८० दशमलव ३० मेट्रिकटन अर्थात २६ हजार ५ सय सिलिण्डर, प्रिमा ग्यास २ सय ८३ मेट्रिक टन अर्थात् १९ हजार ५ सय सिलिण्डर बजारमा मौजुदा छ।

यस्तै, सुगम ग्याँस २ सय १३ मेट्रिकटन अर्थात् १५ हजार सिलिण्डर, रिजालको ग्यास १ सय ७७ मेट्रिकटन अर्थात् १२ हजार ५ सय सिलिण्डर ग्यास स्टकमा छ। तर, बजारमा ग्याँस पाउन छाडिएको दुई साता हुन लागेको छ।

ग्यास बिक्रेताहरूले ग्यास नभएको भन्दै उपभोक्तालाई रित्तो सिलिन्डर फर्काइरहेका छन्।

निगमका निमित क्षेत्रीय प्रमुख चितरञ्जन दासले प्रसस्तै इन्धन रहेकोले पम्प सञ्चालकले इन्धन नलगेर बजारमा अभाव सिर्जना गराएको बताए। दासका अनुसार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको र त्यसैको आधारमा नेपालमा पनि मूल्य समायोजन हुने परम्पराअनुसार मूल्य घट्ने डरले व्यापारीले इन्धन हुँदाहुँदैपनि नउठाएर बजारमा कृत्रिम अभाव सृजना गरेको बताए।

‘आयल निगम आफैसँग प्रसस्त इन्धन छ, भारतबाट आउन पनि कुनै समस्या छैन। पर्याप्त आइरहेको छ’, निमित प्रमुख दासले भने, ‘आयल निगमले मूल्य घटाउने डरले पम्पहरुबाट माग नै भएको छैन।’

इन्धनमा मात्र हैन खाद्यान्नमा समेत मूल्य वृद्धि भएको छ। उपभोक्तावादी संस्था नागरिक सचेतना मञ्चका अध्यक्ष मोहन भट्टराईले अहिले बजारमा ४० प्रतिशतसम्म खाद्यान्नको मूल्य अभाव भएको देखिएको बताए। राज्यले अहिलेदेखि नै ध्यान नदिने हो भने ठूलो समस्या आउनसक्ने भट्टराईले सचेत गराए।

उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीले बजारमा ब्यापारीका कारण अभाव सिर्जना भएको आरोप लगाए। उनले बजारमा अहिले इन्धन, ग्यास तथा सेनिटाइजर र माक्सको कृत्रिम अभाव सिर्जना गराइएको आरोप लगाए।

जिल्ला प्रशासन कार्यालय मोरङले बजारमा देखिएको अभाव र आपूर्तिमा देखिन सक्ने समस्यालाई कम गर्नका लागि सबै सरोकारवालासँग सोमबार गरेको छलफलमा सामग्री पर्याप्त हुँदाहुँदैपनि अभाव सिर्जना गर्ने काम भएको सहभागीले बताए।

ग्यास बिक्रेता संघका अध्यक्ष सरलराज पोख्रेलले भने उपभोक्ता आफैले ग्यास स्टक गरेकाले समस्या भएको दाबी गरे। उनले सरकारले यसरी स्टक गर्नेलाई कारबाही नगरेको र व्यापारीलाई मात्रै थर्काएको आरोप लगाए।

नुन १२ महिना पुग्छ

छलफलको क्रममा साल्टट्रेडिङ कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले ३ लाख २३ हजार १ सय ४३ बोरा नुन मौज्दात रहेको जानकारी दिए।

सरकारले ६ महिनाको लागि स्टकमा राख्ने भनेपनि त्यो भन्दा बढाएर नै स्टकमा राख्ने गरिएको चौधरीले जानकारी दिए।

अहिलेकै अवस्थामा कुनै समस्या नहुने साल्ट ट्रेडिङले जनाएको छ। त्यस्तै, विराटनगरको खाद्य गोदाममा १ हजार ८ सय ५८ दशमलव ८५ क्विन्टल चामल भण्डारमा रहेको जानकारी दिइएको छ।

सम्बन्धित खवर