राजनीतिक दलहरूबीच छलफलमा सहमति नजुटेपछि प्रदेश २ को नाम मतदानबाटै टुङ्ग्याइने भएको छ। शुक्रबार बसेको प्रदेश-२ को प्रदेशसभा बैठकमा नाम टुङ्गो नलागेपछि चैत ४ गते नाम छनोट गर्न मतदान हुने भएको हो। प्रदेश-२ का लागि नेकपाका सचेतक सुन्दर विश्वकर्माले भने, ‘बैठकमा नाम टुङ्गो लाग्न सकेन। अब मतदानबाट नाम छान्ने प्रक्रियामा अगाडि बढेका छौँ। ४ गते मतदान हुन्छ।’
राजधानी जनकपुरमा राख्ने कुरामा दलहरूबीच सहमति भएपनि प्रदेशको नाम के राख्ने भन्ने विषयमा भने विभिन्न पार्टीले संसदमा फरक प्रस्ताव पेस गरेका थिए। त्यसपछि पटकपटक दलहरूबीच भएका छलफलमा पनि सहमति नजुटेपछि नामको टुङ्गो मतदानबाट लगाइने भएको हो।
अढाई महिनापछि शुक्रबार प्रदेश-२ को बैठक बसेको थियो। नाम र राजधानी टुङ्ग्याउन गठित समितिका संयोजक सभामुख सरोजकुमार यादवले पेस गरेको प्रतिवेदनमा प्रदेशको राजधानी जनकपुर राख्नलाई सबै दल सहमति भएपनि नाम के राख्ने भन्ने विषयमा भने आ-आफ्नो प्रस्ताव राखेका थिए।
नेकपाले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेको छ। कांग्रेस र सत्तारुढ दल, समाजवादी पार्टी तथा राजपाले क्रमशः मिथिला भोजपुरा र मधेश नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्। बारा र पर्सा जिल्लाका कांग्रेसका असन्तुष्ट सांसदले भने प्रदेशको नाम मध्य प्रदेश हुनुपर्ने माग राखेका छन्। त्यसैले बैठकमा नाम के राख्ने भन्ने टुङ्गो लागेको थिएन।