डडेल्धुरा : कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षामा विद्यार्थीहरुले मास्क लगाएर परीक्षा दिएका छन ।
दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा धमाधम परीक्षा भइरहेका छ। डडेल्धुरास्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको भएपनि कोरोना भाइरसका कारण फागुन २७ गतेबाट नै सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएकाे छ ।
‘डडेल्धुराका सातवटै स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइसकेको छ।’ सामुदायिक विद्यालयमा निर्धारित समयभन्दा अगावै परीक्षा सञ्चालन गर्नुपरेकाले केही विद्यालयको आन्तरिक तयारी नपुगेको देखिन्छ।अमरगढी नगरपालिकाअन्तर्गत कक्षा ५ र ८ को परीक्षा सञ्चालन हुनसकेको छैन।
अमरगढी नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी १४ वटा विद्यालयका कक्षा ५ र ८ का विद्यार्थीले दिने बार्षिक परीक्षा सारिएको छ। कक्षा ५ र ८ को प्रश्नपत्र निर्माणमा ढिलाइ भएकाले तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेको अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले जानकारी दिए।
परीक्षामा सामेल विद्यार्थीलाई मास्क अनिवार्य गरेको जनाउँदै शिक्षा शाखा प्रमुख पन्तले नगरपालिका अन्तर्गतका विद्यालयमा विद्यार्थी संख्याका आधारमा निःशुल्क रूपमा मास्क वितरण गरिएको बताए।
विद्यालर्थीले मास्क लगाएरै परीक्षामा सहभागी भइरहेका छन्। कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण उनीहरूले मास्क लगाएरै परीक्षा दिइरहेका छन्।‘कोरोना भाइरसका कारण ज्यान जानेको संख्या विश्वमा बढिरहेको छ, हामीकहाँ कोरोना भाइरसको संक्रमण देखापर्नु अगाडि नै सजकताको प्रयासका लागि सबैसँग आग्रह गरिएको छ।
‘जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्न, भेला, जमघट तथा मेला महोत्सवजस्ता कार्यक्रमहरू नगर्न प्रशासनले सबैमा अनुरोध समेत गरेका छ।’ जिल्लाभर प्राथमिक, आधारभूत र माध्यमिक विद्यालय गरी २४९ वटा विद्यालय रहेका छन् ।






