विदेशीको गुलामी हुनु भन्दा नेपालमा गोबर सोर्नै ठिक ः ढकाल

विदेशीको गुलामी हुनु भन्दा नेपालमा गोबर सोर्नै ठिक ः ढकाल

पर्वत : पर्वतको कुस्मा नगरपालिका-९ देउतीखेतका शिव ढकाल वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षसम्म दुबईमा बसेका उनको अहिलेको दैनिकी गाईकाे हेरचाह र गाई पालन व्यावसायमा वित्ने गरेकाे पाईन्छ ।

उनले विदेशीको कम्पनीमा गुलामी गर्नुभन्दा आफैँले पालेका गाईको भकारोमा गोबर सफा गर्न मन पराउँछन्।

बिहान र बेलुका बाल्टी भरिने गरेर गाई दुहुन्छन्, बजार पठाउँछन्। परिवारको साथमै दैनिकी काटिरहेका छन्, टोल छिमेकमा मर्दा र पर्दा सबैलाई सघाउँछन्। स्वदेशकै श्रम प्यारो विदेशमा रहँदा पनि राम्रै कमाइ गरेका ढकाललाई अर्कैको देशमा पसिना खर्चिनुभन्दा स्वदेशमा श्रमिकको रूपमा काम गर्न इच्छा जाग्यो।

यही कारण दुबई बसाइका लागि भिसामा रहेको एक वर्षको अवधि अगाडि नै अकस्मात घर जानु परेको भन्दै स्वदेश फर्किए, तर फेरि फर्केर दुबई गएनन्। ‘मलाई विदेशमा अर्काको काम गरेर अरूलाई धनी बनाउनुभन्दा आफ्नै माटोमा पसिना चुहाएर गरिब बन्न मन लाग्यो।’ उनले भने, ‘घरमा इमर्जेन्सी परेको बहानामा एक वर्ष अगाडि नेपाल आएपछि गाई पालन गरिरहेको छु।’

गएको असारमा ५ वटा होलेस्टोन जातका गाई पोखराबाट ल्याएर गाई पालन सुरु गरेका उनको गोठमा अहिले जर्सी र होलेस्टोन गरेर १६ वटा गाईहरू छन्।

गाई पालन सुरु गरेको ९ महिनाको अवधिमा झन्डै ६० लाख रुपैयाँ लगानी गरिसकेको ढकालले बताए। ‘मङ्सिरमा ४ लाख रुपैयाँको त पराल मात्र खरिद गरेको हुँ।’ शिव भन्छन्, ‘सुरुमा पोखराबाट ५ ओटा गाई ल्याएको हुँ, अहिले गोठमा १६ वटा गाई छन्। कोही लैना छन्, कोही अब ब्याउने पनि छन्।’ गाईपालनमा सन्तुष्टि गाईलाई आवश्यक पर्ने दाना, घाँस, पराल, औषधि लगायतका वस्तु खरिद गर्दा महिनामा झन्डै ८० हजार रुपैयाँ खर्च हुने गरेको छ भने उनले मासिक बचत झन्डै ७० हजार रुपैयाँ गर्दै आएका छन्।

विदेशमा योभन्दा धेरै आम्दानी हुने गरेको भए पनि आफ्नै ठाउँमा रहनुको मज्जा विदेशमा नपाइने भएकोले आफूले गर्दै आएको आम्दानीबाट सन्तुष्ट रहेको ढकाल बताउँछन्।

एउटा गाईले दैनिक औसतमा १ सय १० लिटर दूध दिने र प्रतिलिटर ५८ रुपैयाँका दरमा बिक्री गर्ने गरेको उनले बताए। गाई फार्मबाट उत्पादन हुने दूध नजिकै रहेको सदरमुकाम कुस्मा बजारमा बिक्री हुँदै आएको छ। गाई पालनमा निकै खुसी देखिने शिवले दुई जनालाई राम्रो तलब दिएर रोजगारी पनि दिएका छन्।

सम्बन्धित खवर