पथरी शनिश्चरेमा योजना सम्झौताको म्याद थपियो, चैत मसान्तसम्म सक्नु पर्ने निर्णय

पथरी शनिश्चरेमा योजना सम्झौताको म्याद थपियो, चैत मसान्तसम्म सक्नु पर्ने निर्णय

पथरी, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको पछिल्लो बैठकले चालु आर्थिक वर्षका लागि चैत मसान्तसम्म सम्पूर्ण योजनाहरु सम्झौता गरिसक्नु पर्ने निर्णय गरेको छ ।

नगर तथा वडामा फागुन मसान्तसम्ममा सम्झौता गरिसक्ने अवधि तोकिएको भएपनि योजना सम्झौता नसकिएकाले नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले १ महिना अवधि थप गरी चैत मसान्तसम्म बनाएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

यसका साथै बैठकले पाँचौ नगरसभाबाट विपन्न आवासका लागि छुट्याएको ३० लाखबाट जग्गा खरिद गर्न निर्देशन गरेको छ । त्यस योजनाको घरको जस्तापाताको छानोका लागि छुट्याएको २० लाखबाट ८ फुटे जस्तापाता खरिद गर्ने निर्णय भएको पनि उहाँले वताउनु भयो । जसमा चैत मसान्तभित्र जग्गा खोजविन गर्न कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी समेत दिइएको छ ।

बैठकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेश समृद्ध कार्यक्रम केन्द्रीय समन्वय इकाईमा सामुहिक आवास, सामुदायिक पूर्वाधार, साना सडक स्तरोन्नती सहितका योजना माग गर्ने समेत निर्णय गरेको छ । जसमा कृषि विकास, खानेपानी तथा सरसफाई, सिंचाई तथा नदी नियन्त्रण, उर्जा, विपद् न्यूनिकरण र पारम्पारिक पेशा प्रवद्र्धनात्मक एवम् आयआर्जन तथा जीवनस्तर सुधार कार्यक्रम पनि पेश गरिने छ ।

नगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार तथा बृद्धि कार्यक्रमका लागि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकाय समक्ष माग पेश गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी, नगरको विपद व्यवस्थापन उपसमितिमार्फत नगरका जोखिममा पर्न सक्ने वस्तीहरुको पहिचान गरी सम्वन्धित सरकारी निकाय समक्ष विपद् व्यवस्थापनका लागि माग गर्ने सहितको निर्णय गरिएको छ ।

सम्बन्धित खवर