भविष्यको जग बलियो बनाउदैँ सिद्धस्थली विद्यालय

भविष्यको जग बलियो बनाउदैँ सिद्धस्थली विद्यालय

सिन्धुली,२५ फागुन– झण्डै ६० बालबालिकाहरु गलामा स्कार्प र कालो गाउनमा सजिदा सिद्धस्थली अंग्रेजी आवासीय उच्च माध्यमिक विद्यालयको प्रांगणनै रमिरहेको थियो । अझ उनीहरुको प्रस्तुतिले त झनै रोमाञ्चक थपिएको थियो । स–साना बालबालिका शेर्पा, थारु, गुरुङ लगायत देशका विभिन्न भागमा प्रयोग हुने भेषभुषा पहिरिएर  र्‍याम्पवाक गर्दा माहोलनै रमाइलो देखिएको थियो । यो सबै दृश्य, सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको सिद्धस्थली विद्यालयमा मन्टेश्वरी बालबालिकाहरुको दिक्षान्त समारोहको हो ।

शनिबार सिद्धस्थली विद्यालयले मन्टेश्वरीमा अध्ययनरत ६० जना बालबालिकालाई दिक्षित गरेको छ । उनीहरु अब मन्टेश्वरीको पढाई सकेर कक्षा एकमा पढ्न योग्य भएकाले विद्यालयले उनीहरुलाई सम्मान गर्दै दिक्षित गरेको हो । विगत तीन वर्षदेखि सिन्धुलीमा मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको विद्यालयको यो तेश्रो दिक्षान्त कार्यक्रम हो ।

कमलामाई नगरपालिकाको प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख आतिथ्यता, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका प्रमुख नेत्र गजुरेल, जिनियस एकेडेमि काठमाडौँका सिइओ कमल सिलवाल र पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन)को विशेष अतिथ्यतामा सम्पन्न दिक्षान्त समारोहमा अभिभावक, विद्यालयका सदस्य लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले जग बलियो भए भविष्य बलियो हुने भन्दै विद्यालयको तारिफमा समय खर्च गर्नुभयो । उहाँले कमलामाई नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरि, सिद्धस्थली विद्यालयका संस्थापक एवं प्रधानाध्यापक ओम प्रधानले जबसम्म बच्चा स्वतन्त्र हुदैँन तबसम्म उस्ले प्रभावकारी ढंगले शिक्षा हासिल गर्न नसक्ने बताउँदै मन्टेश्वरीले बालबालिकालाई बलियो जग बसाउन मद्धत पुग्ने बताउनुभयो । उहाँले सिन्धुलीमा मन्टेश्वरीको शिक्षाप्रति अभिभावकको झुकाव बढिरहेको देख्दा खुशी लागेको बताउनुभयो । “मन्टेश्वरीमा बालबालिकाको रुचि र चाहनाअनुसारको शिक्षा हुने भएकोले बालबालिकाहरुले खेल्दा खेल्दै धेरै कुरा सिक्न सक्छन्”। उहाँले भन्नुभयो । उहाँले मन्टेश्वरीबाट बालबालिकाले सिकेको कुराको प्रभावकारीता पारिवारिक वातावरणमा पनि भर पर्ने बताउनुभयो ।

घर बलियो बनाउन जसरी त्यसको जग बलियो आवश्यक छ त्यस्तै सक्षम मानिस उत्पादनका लागि मन्टेश्वरी शिक्षा अत्वाश्यक रहेको कार्यक्रममा उपस्थित अभिभावकहरुको भनाई थियो । उहाँहरुका अनुसार मन्टेश्वरीमा पठाउन थालेपछि बालबच्च फुर्तिलो र टाठाबाँठा भएका छन् ।

दिक्षान्त कार्यक्रममा बालबालिकाले नृत्य एवं सांस्कृतिक कलाहरु प्रस्तुत गरेका थिए । मन्टेश्वरीको शिक्षा पद्धतिनै फरक भएको हुँदा बालबालिकाहरुको व्यवहारनै फरक भएको कार्यक्रममा देख्न सकिन्थ्यो । उनीहरु बिना कुनै डर निर्धक्क प्रस्तुति दिइरहेका थिए । दिक्षान्त कार्यक्रममा बालबालिकाहरु मस्ति मुडमा देखिएका थिए ।

सम्बन्धित खवर