राजेन्द्र महतो ः लहान । सिरहाको सिरहा नगरपालिका (७ ट्राफिक चौक स्थित भारतबाट ल्याउँदै गरेको अवैध लाखौं रुपैया बराबरको ब्रोइलर कुखुरा सहित पिकअप शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका ७ स्थित ट्राफिक चौकमा भारतबाट ल्याउँदै गरेको ना ४ ख ९३६४ नम्बरको पिकअपमा करीब २ लाख ५० हजारको पाँच सय वटा ब्रोइलर कुखुरा र पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको हो ।
नियन्त्रणमा लिएको कुखुरा भन्सार कार्यालय माडरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ । पिकअप र चालकलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागि भन्सार कार्यालय माडरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि तथा सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।
पछिल्लो समय चिनमा कोरोना भाईरस देखिएपछि भारतमा कुखुराको मासु विक्रिमा कमि आएको छ । कुखुराको विक्रिमा कमि आएपछि भारतीय कुखुरा नेपाल भित्रीने गरेको नेपाली व्यवसायीहरुको दावी छ।सिरहाका विभिन्न चोरबाटो हुँदै दिनहुँ चल्ला र कुखुरा नेपाल भित्रिरहेको र राती १२ बजेपछि कुखुरा बोकेको गाडी नेपाल भित्रिने गरेको सीमाक्षेत्रका स्थानीयहरुले जानकारी दिए ।