कफी खेतीमा रम्दै सापकोटा

कफी खेतीमा रम्दै सापकोटा

पर्वत घरको करेसाबारीदेखि बारीका पाटासम्म, केराघारीका छेउछाउदेखि खेतका गरासम्म कफीका बोटले हरियाली छाएको देख्न सकिन्छ । घरअगाडि रहेका टनेलमा कफीका ३५ हजार भन्दा बढी विरुवा रोप्नका लागि तयारी अवस्थामा रहेका छन् ।

यस अगाडि गाउँमा कुनै पनि किसानले कफी खेती गरेका थिएनन् । न त कसैले कफी खेती विकासको लागि परियोजना नै लगेका थिए। पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा रुग्दीका टुकनाथ सापकोटाले व्यावसायिक रूपमा सुरु गरेको कफी खेतीले यति बेला विदेश नगैं स्वदेशमै केहि गर्छु, भन्ने युवाहरुमा प्रेरणाको स्रोत बन्न गएको छ । रुग्दीमा व्यावसायिक रूपमा खेती नगरिएको बेलामा सापकोटाले सुरु गरेको कफीको बिरुवा उत्पादन तथा नर्सरीले सबैलाई कफी खेतीमा प्रौत्साहन गरेको स्थानीयहरु बताउँछन् । सापकोटा २०५७ सालदेखि वैदेशिक रोजगारीको लागि १० वर्षसम्म मालदिभ्स र साउदी अरेबियामा बसेका थिए ।

सापकोटाले विदेशमा रहँदा कफीको क्षेत्रमा केहि समय काम गरेका थिए । उनलाई केहि संस्थाहरूबाट गुल्मी, पाल्पा, स्याङ्जालगायतका जिल्लामा भइरहेको कफी खतीको अवलोकन तथा भ्रमण गर्ने अवसर पनि मिल्यो । अवलोकनकै लागि पाल्पा पुगेपछि उनमा बल्ल केही गर्ने जोस आयो । उमेरले ८५ वर्ष पुगेका रेवन्तप्रसाद शर्माले चारैतिर हरियाली देखिने गरी लगाएको कफी खेती अनि खेतीको स्याहार गर्न आफैँ खटिएको देख्दा उमेरले होइन फरक पार्ने मन र सोचले भन्ने टुकनाथलाई लाग्यो ।

‘अवलोकन गर्न धेरै ठाउँमा गएँ । जब पाल्पाका ८५ वर्षीय बाले जाँगर चलाएको देखेँ। मलाई असम्भव केही छैन भन्ने लाग्यो’
वास्तविक किसानलाई देख्ने सरकारको चस्मा ठिक छैन जोसका साथ कफीमा हात हालेका टुकनाथले सरकारको चस्मा समेत ठिक नभएको गुनासो गर्छन । सरकारको एक रुपैयाँ पनि मैले लिएको छैन’ टुकनाथले भने, ‘असिनाले हानेर ४ लाखका विरुवा नष्ट भए, नगरपालिकाका मान्छे आएर हेरेर गए तर उनीहरूको तर्फबाट कुनै सहयोग भएन। पालिकाबाट आर्थिक अनुदानको आसा नगरेको भए पनि टनेलसम्म पाउन सके बिरुवा जोगाउन सकिने उनको भनाई छ ।

स्थानीय सरकारले वास्तविक किसानको पहिचान नै नगरी कृषिका अनुदानहरू हात हातै बाँड्दा वास्तविक कृषकहरू भने सधैँ समस्यामा रहने गरेको उनले दाबी गरे। कफी खेतीले खाली ठाउँको सदुपयोग कृषक टुकनाथका अनुसार कफी खेती गर्नको लागि अरू नगदे बालीको जस्तो मरीहत्ते गर्नु पर्दैन । एउटा बोटबाट कम्तीमा पनि एक हजार रुपैयाँ बराबरको उत्पादन हुने भएकोले केही बोट मात्रै कफी लगाउने हो । अहिले बिरुवा उत्पादन गरेर जिल्लाका विभिन्न ठाउँमा बिक्री गर्दै आएका उनले छिमेकी जिल्लाहरू बागलुङ, म्याग्दी र स्याङ्जा पनि कफीका बिरुवा बिक्री गर्दै आएका छन् ।

यस पटक उनी आफैँले पनि कफी खेतीको लागि जमिन तयार गरेका छन । पाकेको कफी (चेरी) लाई प्रति किलो ७० रुपैयाँमा किनबेच गर्ने भनेर सरकारले तोकेको भए पनि खरीदकर्ताले किसानलाई ८० रुपैयाँसम्म दिइरहेको बताउँदै सापकोटाले अबको खाली रहेको जमिनमा कटुस र चिलाउनेको रुख हुर्काउनु भन्दा तिनलाई ढालेर कफी लगाउन बताए । स्वदेशमै केहि गर्छु ,भन्ने युवाहरुलाई सम्बन्धित सरोकारवाला निकायहरुको सहयोग र हौंसला पाउँने हो, भने अधिकांस युवाहरु विदेसिन बाट जोगिने र स्वदेशमै रोनगारी बन्न निश्चित देखिन्छ ।

सम्बन्धित खवर