कक्षाकोठा अभावमा दुईवटा एकैठाउँ खाँदिएर पढ्दैछन विद्यार्थी

कक्षाकोठा अभावमा दुईवटा एकैठाउँ खाँदिएर पढ्दैछन विद्यार्थी

धनकुटाको पाख्रिबाँस नगरपालिका–१ सान्नेमा रहेको अन्नपूर्ण माविमा भवनको अभावमा एउटै कोठामा दुई ओटा कक्षा एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको छ। उक्त विद्यालयको एउटा कोठामा बालविकास र कक्षा १ तथा अर्को कोठामा कक्षा २ र ३ का विद्यार्थीहरू राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मोहनी प्रसाद तामाङले बताए।
त्यसैगरी कोठा अभावकै कारणले स्टाफ कक्ष (कार्यालय) र कम्प्युटर कोठामा कक्षा ११ र १२ का विद्यार्थीलाई पढाउनु परेको उनले बताए। ९ ओटा मात्र कोठा रहेको उक्त विद्यालयमा तीनवटा कोठामा बहुकक्षा शिक्षण पद्धतीको प्रयोग गर्दै दुइवटा कक्षा राखेर पढाउनु परेको शिक्षिका लक्ष्मी कुँवरले बताइन। एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनु पर्दा विद्यार्थीहरूमा शिक्षण सिकाइ उपलब्धी नहुने उनले बताइन।
यस्तो अवस्थामा पाठ्यपुस्तक भन्दा पनि विषय मिल्ने पाठ्यक्रमलाई जोड दिएर पढाउने गरेको अर्की शिक्षिका सीता गौतमले बताइन। कक्षा ११ की छात्रा मनीषा गौतमले अर्काे कक्षाका विद्यार्थीहरूसँग एकै ठाउँमा बसेर पढ्नु पर्दा खासै उपलब्धि नभएको बताइन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाईले नयाँ भवन बनाइरहेको हुँदा बाहिरबाट कामदार आएर एउटा कोठामा बसेको अर्को कोठा निर्माण सामग्री राख्नुपर्ने भएकाले कोठा अभाव भएको प्रधानाध्यापक तामाङले बताए।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाई धनकुटाकी प्रमुख मोहन राईले उक्त विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाईले नयाँ भवन बनाइरहेको हुँदा आगामी शैक्षिक शत्रदेखिको सुरुमा भवन बनिसक्ने र कक्षा कोठाको अभाव नहुने बताइन ।

सम्बन्धित खवर