नगरसभाले टुङ्गो लगाउन सकेन रतुवामाईको केन्द्र

नगरसभाले टुङ्गो लगाउन सकेन रतुवामाईको केन्द्र

मोरङको रतुवामाई नगरपालिकाको स्थायी केन्द्र निर्धारणका लागि भएको निर्वाचन निष्र्कष बिहिन भएको छ । कुनै पनि प्रस्ताबको पक्षमा दुई तिहाई बहुमत नपुगेपछि यस्तो अवस्था आएको हो ।

बुधबार साँझ सम्पन्न निवार्चनमा नगरप्रमुख रविन राई अल्पमतमा पर्नुभएको छ । उपमेयर दयन्तादेवी चुडालको समुहले समर्थन गरेको वडा नम्बर ६ त्रिभुवन चौकको पक्षमा २४ मत परेको छ भने मेयर राईको समुहले समर्थन गरेको वडा नम्बर ७ सिजुवाको पक्षमा २३ मत परेको छ । मतपत्रमा ५ वटा स्थान राखेर मतदान गराईएको भए पनि अन्य ३ स्थानका पक्षमा कुनै मत परेन ।

नगरसभामा हाल कायम रहेका ५३ सदस्यमध्ये मतदान प्रक्रियामा ५१ जनाको मात्र सहभागिता थियो । खसेको ५१ मतमा ४ मत बदर भएको थियो । ८ नम्बर वडा सदस्य सरु राई नगर सभामा अनुपस्थित हुनुहुन्थ्यो भने १ नम्बर वडा सदस्य घनश्याम गौतम उपस्थित भएर पनि मतदानमा सहभागी हुनु भएन ।

बुधबार बिहान बसेको नेकपा नगर कमिटिको बैठकले नगरको स्थायी मुकामका लागि त्रिभुवन चौकको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको थियो । बिहान ११ बजेबाट सुरु हुने भनिएको नगरसभा नेपाली कांग्रेसको बैठकका कारण ५ घण्टा धकेलिएको थियो । कांग्रेसले सिजुवाको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई उर्दि गरेको थियो ।

११ बजे बोलाई पौने ४ बजेसम्म कुराएर आफूहरुलाई हैरान पारेको भन्दै १० नम्बर वडा अध्यक्ष टंक ढकालले गुनासो गर्नुभयो । हरेक नगरसभा र कार्यपालिकाको बैठकमा मेयर राईको यही प्रवृत्ति दोहोरिरहने उहाँको भनाई छ । पूर्व तयारी बिना बैठक डाक्ने अनि बैठक सुरु हुने बेलामा हराउने मेयर राईको आदततै भईसकेको भन्दै उहाँको गलत कार्य शैलीकै कारण ३ वर्षसम्म पनि नगरपालिकाको केन्द्र निर्धारण हुन नसकेको वडा अध्यक्ष ढकालले आरोप लगाउनुभयो ।

नेकपाको जस्तो कांग्रेसले आफ्ना सदस्यहरुलाई औपचारिक रुपमा ह्वीप नलगाएको ९ नम्बर वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङको दावी छ । सिजुवाको पक्षमा कांग्रेस सदस्यहरुबीच सामान्य छलफल र सरसल्लाहा भएको तर आफू भने त्यो छलफलमा समेत सहभागी नभएको उहाँले बताउनुभयो ।

निर्वाचनले स्थायी मुकामको टुङ्गो लागउन नसक्नु दुर्भाग्यपूर्ण भएको अध्यक्ष चोङवाङले टिप्पणी गर्नुभयो । नेकपा र कांग्रेस यसरी नै दुई पक्षमा विभाजित भईरहे यो कार्यकाल भरी स्थायी केन्द्र निर्धारण हुन नसक्ने उहाँले बताउनुभयो । मेयर र उपमेयरले उपयुक्त सहमती गरी आ–आफ्नो पार्टीका सदस्यहरुलाई विश्वासमा लिएर एउटै निर्णयमा पुग्न उहाँले सुझब पनि दिनुभयो ।

नगरको भूगोल, जनसंख्या, सडक सु्विधा लगायतका विषयहरुलाई मध्यनजर गरी नेकपाले त्रिभुवन चौकलाई स्थायी मुकाम बनाउन चाहेको ८ नम्बर वडा अध्यक्ष एवं नेकपा मोरङ जिल्ला कमिटि सदस्य नन्दकुमार चापागाईले बताउनुभयो । स्थायी मुकामका लागि परेका ५ वटा स्थानका निवेदनमध्ये सबैलाई पायक पर्ने र उपयुक्त स्थान त्रिभुवन चौक नै भएको भन्दै उक्त स्थानका लागि सहमति जुटाउन आफ्नो पार्टीले कोशिस जारी राख्ने उहाँको भनाई छ ।

यसैबीच नगरपालिकाको सुचना शाखाले आफ्नो फेसबुक पेजमार्फत कुनै पनि प्रस्ताबको पक्षमा दुई तिहाई बहुमत नपुगेको हुँदा हालको केन्द्र सिजुवा नै स्वत स्थायी केन्द्र घोषणा भएको नगरबासीलाई जानकारी गराएको छ ।

तर यस सम्बन्धी प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईको भने फरक धारणा छ । कुनै पनि प्रस्तावको पक्षका दुई तिहाई बहुमत नपुगेपछि अब के हुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “म यस सम्बन्धीे कुनै पनि टिप्पणी गर्दिन, सबै कुरा कानुन बमोजिम हुन्छ ।” बुधबार साँझ अबेर मत परिणाम घोषणा गरिएको र नगर सभाबाट यसको प्रमाणिकरण गर्न बाँकी रहेको पनि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ मा गाँउपालिका तथा नगरपालिकाको नाम र केन्द्र सम्बन्धी व्यवस्था गरिएको छ । दफा ४ को उपदफा ३ मा नगरपालिकाको केन्द्र तोक्न नगर सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्ने उल्लेख छ ।

सम्बन्धित खवर