भीमराज अधिकारी, पथरी
माक्सको कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने व्यापारीलाई कार्वाही गर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताउनुभएको छ । बुधबार पथरीमा संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री घिमिरेले यस्तो बताउनुभएको हो ।
‘‘बजारमा माक्सको खपत बढि हुने बितिकै कृतिम अभाव सिर्जना गर्नु गैरकानुनी हो । बजार अनुगमनका क्रममा त्यस्तो पाइमा कडा कार्वाही गरिने छ ।’’ घिमिरेले भन्नुभयो ।
मोरङको पथरीमा १५ रुपैयामा किनबेच हुदै आएको पेपर माक्स २० रुपैयामा किनबेच हुन थालेको छ । मंगलबार विराटनगरमा माक्सको अभाव भनेर समाचार आउने बितिकै मोरङका अन्य बजारहरुमा कृतिम अभाव सिर्जना गरिएको छ ।
व्यापारीले माक्सको अभाव भएको भन्दै १५ रुपैया पर्ने माक्सलाई २० रुपैया लिएको पथरीकी विनिता सिवाकोटीले बताउनुभयो । कोरोनाको संक्रमण बढ्ने डर देखिएपछि यतिबेला अधिकांशले माक्सको प्रयोग गर्न थालेका छन् । कमाउ धन्दामा लागेका व्यापारिले भने माक्स आउनै छाडेको भन्दै कृतिम अभाव सिर्जना गरेका छन् । यस विषयमा स्थानीय तहहरुले पनि अनुगमनलाई कडाइका साथ अगाडी बढाउनुपर्ने स्थानीय उपभोक्ताहरुले बताएका छन् ।