नेपाली भाषा संकटमा छ ः मन्त्री जिवन घिमिरे

नेपाली भाषा संकटमा छ ः मन्त्री जिवन घिमिरे

भीमराज अधिकारी, पथरी

नेपाली भाषा दिन दिनै संकटमा पर्दै गएको प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताउनुभएको छ । मोरङका पथरी शनिश्चरे १ मा रहेको पञ्चायत माविको ४० औँ वार्षिकोत्सव तथा वृहत् विज्ञान प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्न बुधबार पथरी आउनुभएका घिमिरेले नेपाली भाषा संकटमा पर्दै गएको बताउनुभएको हो ।

‘‘अहिले नेपाली भाषा दिनदिनै संकटमा पर्दै गएको छ । अभिभावकको रोजाइमा संस्थागत विद्यालयहरु पर्दै गएपछि नेपालीको प्रयोग कम हुदैँ गएको अवस्था छ । अब संस्थागत विद्यालयको सुविधा सामुदायिक विद्यालयहरुले दिनुपर्छ । सामुदायिक विद्यालयको आकर्षण बढाउनका लागि प्रदेश सरकारले सबै विद्यालयहरुमा अनिवार्य रुपमा पूर्व विद्यार्थी मञ्च, आमा समुह गठन गर्नुपर्ने अवधारणा पनि ल्याएको छ ।’’ मन्त्री घिमिरेले भन्नुभयो ।

प्रदेश सरकारले सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा धुम्रपान, मधपान पनि निषेध गरेको बताउनुभयो । विद्यालयको ३ सय मिटर वरीपरी कुनैपनि धुम्रपान मधपान बेचविखन गर्न नपाउने घोषणा गर्नुपर्ने यदि त्यसो नगरेको खण्डमा विद्यालयका प्रधानध्यापक लगाएत जुन कार्यालय रहेको छ त्यसका प्रमुखलाई ५ हजार जरिवानाको व्यवस्था रहेको बताउनुभयो । यदि कसैले त्यसको अवज्ञा गरेर सुर्तिजन्य पदार्थ प्रदर्शन गरेको वा प्रयोग गरेको खण्डमा १० हजार जरिवानाको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थीहरु पत्रकार गोपाल काफ्ले, मिस पूर्वाञ्चल २०१९ रीजु भट्टराई, नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकर, असल अभिभावकहरुलाई सम्मान समेत गरियो । परीक्षामा उत्कृष्ट विद्यार्थीहरु, अक्षय कोष मार्फत आएको व्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, अवकास प्राप्त्र शिक्षकहरु र यो शैक्षिक वर्षमा विद्यालय छाडेका शिक्षकहरुलाई सम्मान सहित विदाइ समेत गरियो । कार्यक्रममा शैक्षिक सत्र २०७६ को आर्थिक प्रतिवेदन तथा आगामी कार्यक्रम प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले प्रस्तुत गर्नुभयो ।

पञ्चायत मावि विज्ञान संकाय संचालन गर्ने सामुदायिक विद्यालयहरु मध्ये देशमै उत्कृष्ट रहेको छ । फागुन २३ गते सम्म चल्ने विज्ञान प्रदर्शनीमा रोबट, ड्रोन, मिसाइल, भूतघर लगाएतका ४० भन्दा वढि स्टलहरु रहेका छन् । स्टल अवलोकनका लागि छिमेकी पालिकाहरु र इटहरी, विराटनगर, दमक लगाएतका ठाउँहरुबाट समेत आउने बताइएको छ ।

सम्बन्धित खवर