गाई पालनबाट मासिक ४० हजार आम्दानी

गाई पालनबाट मासिक ४० हजार आम्दानी

बाग्लुङ : हाम्रो देश नेपाल कृषिप्रधान भएता पनि यहाँ कृषिमा लाग्ने किसानहरुले आत्मासमान नपाएको ठुलै स्वरमा गुनासो आउँने गरेको पाईन्छ । त्यसमा पनि नेपालका अधिकांस मानिसहरु युरोप लगायतका विकशित देश जानका लागि त सरकारी सचिव स्तरकै जागिर छोडे। जाने गरेको पाईन्छ ।

तर बाग्लुङका शिवप्रसाद शर्मा चाहिँ गाई पालन व्यवसायमा लागेर उनको दैनिकी यस्तो रहेको छ । बिहान सबेरै उठेर उनलाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन, पैसा तिर्छन, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना रहेका छन् ।

बाँकी दूध शर्माले बजारका घरघर पु¥याउछन । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् । बागलुङ नगरपालिका–२ का शर्मा विसं २०६७ देखि दुग्ध व्यवसायमा लागेका छन । घर नजिकै हाडेपाखामा उहाँको ‘शिवशक्ति गाईभैँसी दुग्ध उत्पादन फार्म’ छ । फार्ममा अहिले पाँच भैँसी र तीन गाई छन् ।


गाई उन्नत जातका हुन् भने भैँसी स्थानीय जातका हुन् । गाई भैँसीले दैनिक ९० लिटरसम्म दूध दिन्छन् । “एक लिटर दूधको मूल्य रु. १०० छ”, ५५ वर्षीय शर्माले भन्नुभयो, “मासिक रु ५० हजार जति खर्च छ, यस्तै ४० हजार जति बचाउँछु ।” घाँस र दानामा बढी खर्च छ । पशुपालनका लागि उहाँले करिब छ रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिनुभएको छ ।

शर्मा २७ वर्ष कृषि विकास बैंकमा जागिर गरेर निस्केपछि पशुपालन र कृषितिर लाग्नुभएको हो ।“जागिरपछि यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचले यता लागेँ”, उनले भन्ने, “अहिले राम्रै भएको छ, मेहनतको फल पाएजस्तो लाग्छ ।” शुरुमा रु पाँच लाख लगानी गरेर ‘फार्म’ खोलेको र अहिले ‘फार्म’को लगानी बढेर झण्डै रु १५ लाख पुगेको शर्माले बताए ।

शर्मासहित परिवारका सदस्य मिलेर पशुपालन र कृषिलाई अगाडि बढाएका छन् । श्रीमती गीताकुमारी, छोरा गणेश, बुहारी उषालगायतले शर्मालाई काममा सघाउनुहुन्छ ।

छोरा गणेशले पनि अमेरिकाको सपना त्यागेर परिवारसँगै बसेर व्यवसायतिर लागेको बताए । उहाँको बागलुङ बजारमै पेय पदार्थको ‘होलसेल’ पसल छ । अमेरिकाको सपनाले रु ३५ लाख डुबाएको गणेशले बताए । उनले अमेरिका नपुगी बीचबाटै फर्कनु पर्याे ।
“पशुपालनमा अझै लगानी थप्ने र व्यवस्थित गराउने सोचमा छौँ”, गणेशले भन्ने, “सरकारी निकायबाट अनुदान पाउन सके हामीलाई राहत हुने थियो ।”

“अनुदान, प्राविधिक सहयोग पाउन पाए अझ कस्सिएर लाग्न सकिन्थ्यो होला”, शर्माले दुखेसो पोखे, कृषिको अनुदान काम गर्ने किसानलाई भन्दा नगर्नेलाई जाने गरेको गुनासो गरे । योग्य किसान भएर पनि अनुदान पाउनबाट बञ्चित हुनुपरेकोमा किसानहरुको गुनासो रहदैँ आएको छ ।

सम्बन्धित खवर