अपाङ्गता रोकथाम पुनस्र्थापनाका लागि योजना तर्जुमा गोष्ठी

अपाङ्गता रोकथाम पुनस्र्थापनाका लागि योजना तर्जुमा गोष्ठी

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा अपाङ्गता रोकथाम पुनस्र्थापना कार्यक्रम सञ्चालनका लागि आज योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय, पथरीशनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त सहकार्यमा ३ वर्षे कार्यक्रमका लागि २ करोड ९ लाख ५३ हजार ३ सय रुपैयाँको कार्यक्रम बनाइएको छ ।

आजसम्म अपाङ्गता जन्मिएकाहरुको व्यवस्थापन तथा पुनस्र्थापना र अव अपाङ्गता जन्मिन नै नदिने स्वास्थ्य सचेतना सहितको सो कार्यक्रमका बारेमा सरोकारवाला पक्षसँग छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई सहित वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको सहभागितामा कार्यक्रम भएको छ ।

नगर प्रमुख राईले यसै कार्यक्रम अन्तर्गत नगरको पञ्चायत माविमा प्रदेशकै अपाङ्गता भएकाहरुको आवासीय विद्यालयका लागि प्रदेश सरकारबाट हाल १ करोड रुपैयाँ विनियोजन भएको जानकारी गराउनु भयो ।

अपाङ्गता पुनस्र्थापना सहजकर्ताका रुपमा ३ जना महिला स्वास्थ्य प्राविधिक नियुक्त गरी कार्यक्रम अघि बढाउने प्रक्रिया थालिएको छ । सहजकर्ताहरुले नगरमा सर्वेक्षण गरी ८ सय २४ जना व्यक्ति अपाङ्गता भएको तथ्यांक फेला पारेको कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा, करुणा फाउण्डेशनकी सबुन गुरुङ र नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले कार्यक्रमको सहजिकरण गर्नुभएको छ ।

सम्बन्धित खवर