मिहिनेत गर्ने हो भने असम्भव केही छैन

मिहिनेत गर्ने हो भने असम्भव केही छैन

म्याग्दी : भनिन्छ– ‘मिहिनेत गर्ने हो भने असम्भव केही छैन, परिश्रम गर्ने हो भने ढुंगामा पनि सुन फलाउन सकिन्छ।’

‘मिहिनेत गर्ने हो भने असम्भव केही छैन, भन्दै, संघर्षमा होमिएका बेनीका एक व्यक्तिले अहिले वर्षौदेखि बाँझिएर रहेको रुखो पाखोलाई रसिलो फलफूल र तरकारी खेतीको उर्वर भूमि बनाएका छन ।

म्याग्दीका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित छविसमा १५ वर्षदेखि बाँझो रहेको जमिनलाई उपयोग गरी व्यावसायिक तरकारी र फलफूल खेतीमा लागेका हुन । गाउँ छाडेर शहरमा व्यापार व्यवसायमा लागेलगत्तै बाँझो बसेको जग्गा झाडी र जंगल बन्न थालेपछि खेतीयोग्य जमिनलाई खेर जान नदिने अठोट लिएर कृषि उद्यममा लागेको केसीले बताए ।

गत वर्षको फागुनदेखि बाँझो जग्गालाई उपयोगमा ल्याउने अभियानमा लागेका केसीले अहिलेसम्म ५५ रोपनी जग्गामध्ये करिब २५ रोपनी जग्गामा तरकारी र फलफूल खेती विस्तार गरिसकेका छन् । बाँझो जमिनमा झाडी फडानी, खेतीयोग्य जमिन निर्माण र फलफूलका विरुवा खरिदमा मात्रै ११ लाख बढी खर्च भएको केसीको भनाइ छ ।

एलभिन फलफूल तथा तरकारी फर्म स्थापना गरेका केसीले ६ सय कागती, १ हजार केरा, ४ सय आँप, १५० लिचि, १ सय दाँते ओखर, अम्बा लगायतका फलफुलका विरुवा लगाएका छन । आलु, बन्दा, काउली, साग, गोलभेडा, मटर, खुर्सानी, काँक्रो, घिरौला, करेला लगायतको तरकारी खेतीसमेत सुरु गरेका केसीले अहिलेसम्म ५ लाख बराबरको तरकारी बिक्री गरिसकेको जानकारी दिए ।

वरिपरि जंगलले घेरिएको फाँटमा तरकारी खेती र पाखाहरुमा गरिएको फलफूल खेती लोभलाग्दो बनेको छ । १० वटा घारबाट मौरीपालन र एभोगाडोको खेतीसमेत सुरु गरेका केसीले केराबाट छिट्टै उत्पादन दिने भएकाले बाँझो जमिनमा गरेको लगानीबाट छिट्टै प्रतिफल आउने अपेक्षा गरेको बताए ।

उनले निकट भविष्यमै यसै क्षेत्रमा स्थानीय जातको कुखुरा र माछापालनसँगै कालिजको व्यावसायिक पालनलाई समेत अघि बढाउने योजना बनाएको जानकारी दिए । स्वदेशमै केहि गर्ने इच्छा भएका युवाहरुका लागी खेम केसी प्रेरणाको स्रोत बनेका छन ।

सम्बन्धित खवर