सर्लाहीमा दुई गाउँपालिका जोड्ने अधबारा नदीमा झोलुङ्गे पुलको शिलान्यास भएकाे छ ।
चन्द्रनगर र ब्रह्म्पुरीको सिमानामा पर्ने अधबारा नदीमा निर्माण हुन लागेको ३२ मिटर लम्बाईको झोलुङ्गे पुलको अाईतावार शिलान्यास गरिएको हाे। ३९ लाखको लागतमा निर्माण हुन लागेको उक्त पुलको प्रदेश सांसद उपेन्द्र महतो र ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले संयुक्तरूपमा शिलान्यास गरेका छन्।
चन्द्रनगर र ब्रम्हपुरी गाउँपालिकाको बीचमा पर्ने अधबारा नदीमा पुल नहुँदा दुवै गाउँपालिका भएर आवतजावत गर्ने बटुवाहरुका साथै खेतिवारीको काममा निस्कने किसान तथा विद्यालय जाने विद्यार्थीहरुलाई ठूलो समस्या हुँदै आएको थियो ।
सो नदीमा झोलुङ्गे पुलको निर्माण भएपछि आवतजावत गर्न सहज हुने ब्रम्हपुरी गापा अध्यक्ष विनोद साहले बताउनुभयो । सो नदीमा पुल नहुँदा वर्षातको मौसममा बाटो बन्द भएर दुवै गाउँपालिका बीचको सम्पर्क महिनौंसम्म बन्द हुँदै आएको थियो ।
पुलको निर्माण सर्लाहीका प्रदेश सभा सदस्य उपेन्द्र महतोको संसदीय कोषको रकमबाट हुनलागेको ब्रम्हपुरी गाउँपालिका का अध्यक्ष साहले बताए ।