युवाहरुलाई गाँउमै बस्न प्रोत्साहन

युवाहरुलाई गाँउमै बस्न प्रोत्साहन

सिन्धुली, १८ फागुन– सिन्धुलीका हरिहरपुरगढी गाँउपालिकाले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई गाउँमै राख्न पशुपालनको लागि अनुदान दिने भएको छ ।

गाँउपालिकाले चालु आर्थिक बर्ष ०७६/०७७ मा गाई, बाख्रा र बंगुर किसानलाई अनुदानमा बितरण गर्न थालेको जनाएको छ । गाँउपालिकाले गाई, बाख्रा र बंगुर वितरण गर्नका लागि यो बर्ष करिब एक करोड बजेट विनियोजन गरेको गाँउपालिकाका अध्यक्ष कार्साङ लामाले बताउनुभयो ।

किसानको ४० प्रतिशत लगानी र पालिकाको ६० प्रतिशत अनुदान रहने गरी वितरण गर्ने गाँउपालिकाको योजना छ । गाँउपालिका अध्यक्ष लामाका अनुसार बाख्रा, गाई र बंगुर वितरणका लागि पालिकाले कार्यविधि बनाएर पास गरिसकेको छ ।

बेरोजगारी समस्या समाधान गर्न र विदेशिन लागेको युवालाई गाँउमै राख्न यस्तो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । गाँउपालिकाको वडा नं. १, ४ र ५ मा उन्नत जातको बाख्रा, वडा नं. २ र ३ मा बंगुर, वडा नं. ६, ७ र ८ मा उन्नत जातको गाई अनुदानमा वितरण गर्ने कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं. १, ४ र ५ बाख्रापालनको लागि उपयुक्त रहेको र बाख्राका लागि आवश्यक पर्ने घाँस पनि पर्याप्त पाईने भएकाले ती वडामा बाख्रापालनका लागि किसानलाई अनुदान दिन लागिएको उहाँले बताउनुभयो । वडा नं. ६, ७ र ८ मा गाई पालनका लागि प्रशस्त घाँस रहेकाले यस आर्थिक बर्षमा एक सय वटा उन्नत जातको गाई किसानलाई वितरण गर्न लागिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकामा दूध उत्पादनबढाउनका लागि र परम्परागत पशुपालनलाई आधुनिकीकरण गरी व्यवसायिक र उन्नत जातको गाई पाल्न किसानलाई प्रेरित गरिने गाँउपालिकाको भनाइ छ ।

सम्बन्धित खवर