कैलालीमा शंकास्पद दुर्घटना, मोटरसाइकल चालकको ज्यान गयो, परिवारले लाश उठाउन मानेनन्

कैलालीमा शंकास्पद दुर्घटना, मोटरसाइकल चालकको ज्यान गयो, परिवारले लाश उठाउन मानेनन्

शंकास्पद दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएपछि लम्की तनावग्रस्त भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर लुहारपुरका २२ बर्षीय युवक मायाराम चौधरीको गएराती ११ बजेतिर सडक दुर्घटनामा परी मृत्यु भएपछि उनका आफन्तहरुले ठक्कर दिने सवारीचालकलाई पक्राउ गर्न माग राख्दै सडक ठप्प पारेका छन्। तर प्रहरीले भने मोटरसाईकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।
दोषीलाई कारवाही माग गर्दै रातीदेखि नै पीडित परिवार र स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन्।
राजमार्ग अवरुद्ध हुँदा अहिले पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै अलपत्र परेका छन्। चौधरीले चलाएको से २ प १८५० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा निजको घटनास्थलमै मृत्यु भएको हो। चौधरीको शव अहिले बीच बाटोमै अलपत्र छ।
उनले चढेको मोटरसाइकल सडकमा पल्टिएको छ। मोटरसाइकललाई ठक्कर दिने गाडीको पहिचान नभएसम्म शव नउठाउने चौधरीका आफन्तले अडान लिएका छन्।
मृतक चौधरीका श्रीमती र एक नाबालक छोरा रहेको खुलेको छ। राति १२ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक यात्रुबाहक बसका चालकले मोटरसाइकल र शवलाई देखेपछि प्रहरीमा खबर गरेका थिए।

सम्बन्धित खवर