ग्रामीण भेगमा नदीको बहाव घट्दै गएपछि आवातजावतलाई सहज बनाउन फड्के (काठ र बाँसको पुल) बनाउने प्रचलन छ । पछिल्लो समय सडक पुगको गाउँगाउँमा पुल नभएका ठाउँमा पनि यस्तै विधि अपनाउन थालिएको छ ।
गत वर्ष दुईवटा काठको अस्थायी पुल निर्माण गरेर गाउँगाउँसम्म गाडी र्पुयाएको फक्ताङ्लुङ गाउँपालिकाले यस वर्ष चारवटा काठेपुल निर्माण गरेको छ । वडा नम्बर १ को सावादिन, २ को खेजेनिम र ३ को लिङखिमलाई जोड्ने सिंवा, वडा नम्बर ४ इखावु र ५ को तापेथोक जोड्ने छिरुवा र यिनै गाउँलाई जोड्ने तापेथोक र वडा नम्बर ६ को लेलेप जोड्ने रानीपुलमा काठको अस्थायी पुल निर्माण गरिएको छ ।
यी पुलहरु निर्माणपछि वडा नम्बर ७ को ओलाङचुङगोलाबाहेक सबै वडालई जोडेर गाडी पुगेको गाउँपालिकाले जनाएको छ । गाउँमै गाडी पुग्दा खाद्यान्न ढुवानीमा धेरै राहत हुने उनले बताए ।
‘गत साल हामीले दुईवटा काठेपुल बनाएका थियौँ। यस वर्ष स्थानीयले धेरै माग गर्नुभयो,’ अध्यक्ष एभेङले थपे, ‘गाउँसभाबाटै अस्थायी पुल बनाउने बजेट पारित गरेर १५ लाख रुपैयाँमा चारवटा बनाएका हौँ।’
काठेपुल निर्माणपछि लेलेपको इलागाउँ, इखाबुको संसाबुसम्म गाडी पुगेको छ। गाउँसम्म गाडी पुग्नेगरी काठेपुल बनाएपछि स्थानीयलाई ढाकरमा बोकेर बिरामी ल्याउनुपर्ने बाध्यता समेत हटेको छ।
बैशाखसम्मका लागि भए पनि सवारीसाधन सञ्चालन गरी आफ्ना क्षेत्रका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाएको गाउँपालिका अध्यक्ष एभेङ बताउँछन्।




