धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा एक बृद्धको हत्या भएको छ । स्थानीय ५५ वर्षिय सोनेलाल पुलामीलाई सोही ठाउँका यूवाहरुको एक समूहले शनिवार राति करिब ८ बजे हत्या गरेको हो ।
मदिरा र गांजा खाएर यूवाहरुको दुई समूहले एकआपसमा झगडा गरिरहेका थिए । सोही बेला सोनेलाल यूवाहरुलाई सम्झाउने प्रयास गरे । तर यूवाको एक समुहले उनीमाथि नै जाइलागेर कुटपिट गरेका थिए ।
बांसको भाटाले टाउकोमा हानेपछि गम्भिर घाईते सोनेलाललाई तत्काले उपचारका लागि जनकपुर ल्याउदै गर्दा मृत्यु भएको उनका छोरा सुर्यनारायण पुलामीले बताए । उनले राँगाले गहुँ खायो भनेर खेत पुगेका फर्किने क्रममा बुवालाई नशामा मातेका यूवकहरुले हत्या गरेको पनि बताए ।
अहिले उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । पीडित परिवारले हत्या गरेको आरोपमा स्थानीय ७ यूवकमाथि प्रहरीमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।