लहान फागुन १४ ।
राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित लहान नगरपालिकाले अभियानलाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । लहान नगरपालिकामा फागुन १३ गते आयोजित अभिमुखीकरण कार्यक्रममा नगरपालिका प्रमुख मुन्नी साहले फागुन २० गते देखी २८ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
उक्त अभियानमा नौ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप प्रदान गरिने लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिनुभयो ।
अभियान सफल बनाउन वडा स्तरमा सचेतनामूलक कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिनुभयो । खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने भएकाले समय समयमा खोप प्रदान गर्न आवश्यक रहेको छ । गर्भावस्थामा दादुरा भए ८७ प्रतिशत बालबालिका विकलाङ्ग हुने खतरा रहेको बताउँदै बालबालिकालाई दादुरा र रुबेला खोप अनिवार्य लगाउन आग्रह गर्नुभयो । राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियानबारे वडा स्तरमा टोल स्तरमा जानकारी गराइने उहाँले बताउनुभयो । अभिमुखीकरण कार्यत्रममा सबै वडा अध्यक्षहरुले खोपको महत्वको विषयमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो ।