पक्राउ परेका आफ्ना विद्यार्थीको रिहा र प्रहरीले लगाएको मुद्दा फिर्ता लिने आश्वासन पाएपछि नेविसंघ कास्कीले आन्दोलनस्थगित गरेको छ।
मुद्दा फिर्ता र विद्यार्थी रिहाइको माग गर्दै नेविसंघले बिहीबार ( भोलि) देखि शैक्षिक हट्ताल घोषणा गरेको थियो। मङ्गलबार पनि नेविसंघसम्बद्ध विद्यार्थीले विभिन्न ठाउँमा प्रदर्शन र सरकारी गाडी नियन्त्रणमा लिएका थिए। पृथ्वीनारायण क्याम्पस गेटअघि, पोखरा विश्वविद्यालय नजिक पृथ्वी राजमार्ग, चिप्लेढुङ्गा, महेन्द्रपुल, भैरवटोलबाट नेविसंघले एक दर्जन गाडी नियन्त्रणमा लिएर साँझ फिर्ता गरेको थियो।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाल (राजेश) लाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। प्रहरीले थप ८ जना विद्यार्थीलाई पक्राउ पुर्जी जारी गरेको छ। त्यसैको विरोधमा नेविसंघले कास्की जिल्लाभर शैक्षिक हट्ताल गर्ने चेतावनी दिएको थियो। नेविसंघ केन्द्रले पनि विद्यार्थी रिहा गर्न माग गरेको छ।
बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि सरकारी गाडी नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा प्रहरी कुटपिटबाट सुजन तिमिल्सिना घाइते भएका थिए। उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। विद्यार्थीहरूले आन्दोलन जारी राखेपछि कांग्रेस कास्कीका सभापति कृष्ण केसी, विद्यार्थी नेताहरू र प्रशासनले सहमति खोज्ने समझदारी गरेको छ।
मुद्दा फिर्तासहित सहमति गरेर अघि बढ्ने आश्वासन कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले दिएपछि पूर्वघोषित सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेविसंघ नेता भानु ढकालले बताए।
पृथ्वीनारायण क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच गत बिहीबार झगडा हुँदा अनेरास्ववियु निकट विद्यार्थी नेताहरू विराट दवाडी र विशाल पन्त घाइते भएका थिए। कुटपिटमा संलग्न भएको आरोपसहित कास्की प्रहरीमा उजुरी परेपछि नेविसंघका नेता हमाललाई पक्राउ गरिएको थियो।
व्यक्तिगत रिसइबीका कारण घटना मुठभेडको अवस्थासम्म पुगेको दाबी गर्दै अनेरास्ववियुले घटनाको कुनै जिम्मेवारी नलिएको नेविसंघको आरोप छ। सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा जाने अर्का नेता विक्रमादित्य सिंह गिरीले बताए। स्ववियु चुनावको चर्चासँगै पृथ्वीनारायण क्याम्पसमा दुई सङ्गठनबीच दूरी बढ्दै गएको छ। दिनहुँको तनावले क्याम्पसमा शैक्षिक वातावरणसमेत प्रभावित बनेको छ।