चरन क्षेत्र अभाव हुँदा भेंडीगोठ लोप हुने अवस्थामा

चरन क्षेत्र अभाव हुँदा भेंडीगोठ लोप हुने अवस्थामा

पाँचथर : साढे पाँच दशकभन्दा बढी भेंडीगोठ सम्हालेर बसेका पाँचथर फालेलुङ गाउँपालिका–४ गुरुङटारका क्यादरलाल गुरुङले केही वर्ष अघि भेंडीगोठने छाड्ने अवस्था आयो र छाडे पनि, सयौं भेडा पाल्ने गुरुङको गोठमा अहिले गुरुङसँग ५० वटा भेंडा मात्र रहेका छन् ।

पाँचथरकै याङवरक गाउँपालिका–१, च्याङथापुका गर्जमान गुरुङले पनि ३५ वर्षदेखि गर्दै आएको भेंडीगोठ गत वर्ष बेचेको र अर्कै पेशामा लागेको बताए । पाँचथरको उत्तरपूर्वी क्षेत्रमा पुस्तौंदेखि गरिंदै आएको भेंडापालन व्यवसाय अहिले संकटमा परेको छ । क्यादरलाल र गर्जमानजस्तै अन्यले पनि भेंडीगोठ पालन व्यावसाय छाडेका छन् ।

‘१५ वर्षअघि पाँचथरमा मात्र एक दर्जन जति भेंडीगोठ थिए,’ गर्जमानले भने, ‘त्यो संख्या घट्दै आएर अहिले तीनवटामा झरेको छ ।’

चरिचरन क्षेत्रको अभाव भेंडीगोठ मासिएको हो । किसानले अलैंची, चिराइतो, अम्लिसोजस्ता बिरुवा लगाएपछि तल्लो क्षेत्रमा खर्कको अभाव हुँदा भेंडीगोठको अस्तित्व संकटमा परेको हो । त्यसैले राम्रो घाँस भएको क्षेत्रमा पनि बढीमा एक सातादेखि दश दिनसम्म मात्र भेंडा राख्न सकिन्छ। एउटा खर्कदेखि अर्को खर्कमा सारिरहनु पर्ने भएकाले भेंडाको लागि ठूलो चरन क्षेत्र आवश्यक पर्ने स्थानीयहरु बताउँछन ।

गर्मी याममा लेकको खर्कले धाने पनि जाडोयाममा वेंशी क्षेत्रमा चरन क्षेत्र अभाव हुँदा भेंडीगोठ लोप हुने अवस्थामा पुगेको छ ।
भेंडाको ऊनबाट आकर्षक राडीपाखी बनाइन्छ, भने घिउ औषधिको रुपमा प्रयोग हुन्ने गरेको छ ।


३०० वटा भेंडासहितको १५ लाख मुल्य बराबरको भेंडीगोठ सञ्चालन गर्दै आएका दीपेन्द्र आङ्बोका अनुसार भेंडाको घिउ आगोले पोलेको, पिल्सेको र हात–खुट्टा मर्केको अवस्थामा औषधिको रुपमा प्रयोग गरिन्छ। उनले भने, ‘अहिले हामीले अढाई महिनासम्मको पाठापाठी प्रतिगोटा दश हजार, घिउ प्रतिकेजी २५ सय र ऊन प्रतिकेजी ४०० रुपैंयाँसम्ममा बिक्री गर्दै आएका छौं।’ तर, अहिले राडीपाखी बनाउने सिप भएकाहरु नै कम भेटिने हुनाले ऊनको बिक्री खासै राम्रो नभएको दीपन्द्रले बताए।

पाँचथरमा मात्र होइन छिमेकी ताप्लेजुङ र इलाम जिल्लामा पनि भेंडीगोठ मासिएर जाने अवस्थामा पुगेको छ । भेंडीगोठ संरक्षणका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको र आगामी दिनमा संरक्षणका कार्यक्रम ल्याइने फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्जकुमार केरुङले जानकारी दिए ।

सम्बन्धित खवर