लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रम सुरु

लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रम सुरु

पर्वत । बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको छ । पर्वत जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि १ सय १९ घर निर्माणाधीन छन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माण अगाडि बढेको पोखरास्थित डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख अनुप थापाका अनुसार चालु वर्ष जिल्लामा १५० घर निर्माण गर्ने लक्ष्य छ । “हालसम्म ५० को हाराहारी घर बनेका छन्”, उनले भने, “अहिले बजेटको समस्या छैन । यो वर्षभित्रै सबै घर बनाइसक्ने छौँ ।”

पर्वतमा चार वर्षअघिदेखि घर निर्माणको कार्यक्रम शुरु भएको थियो । शुरुको वर्ष सय घर निर्माण थालिएको थियो । २०७२ मा तत्कालीन सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रममार्फत साविकका १० गाविसका सय घर निर्माण शुरु भएर लामो समय रोकिएको थियो । पटक–पटक सरकार बदलिँदा तत्कालीन संघीय सरकारको सहरी विकास मन्त्रालयले बजेट रोकेपछि आवास निर्माण कार्य अधुरै रहेको थियो ।

चालु वर्ष यो कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएपछि कामले गति लिएको हो । कार्यक्रमअन्तर्गत फलेबास नगरपालिकामा ४१, कुश्मा नगरपालिकामा ३७, बिहादी गाउँपालिकामा २१, महाशिला गाउँपालिकामा ९ र जलजला गाउँपालिकामा ११ घर निर्माणको अन्तिम चरणमा छन् । ४४ परिवारले घर निर्माण सकेका छन । एक सय ११ घरपरिवारले दोस्रो किस्ता रकम लिएको कार्यालयले जनाएको छ ।
यो कार्यक्रमअन्तर्गत प्रतिपरिवारले रु तीन लाखका दरले रकम पाउँछन् ।

कार्यक्रम सफल भए चालु वर्षमै अरु घर निर्माण शुरु गरिने डिभिजनका निमित्त प्रमुख थापाले जानकारी दिए । सरकारले विपन्न परिवारको सूचीमा परेका परिवारलाई दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिन लागेको हो । यस्ता घर निर्माणको सूचीमा पर्न सम्बन्धित स्थानीय तहले विपन्न प्रमाणित गरिदिनुपर्ने प्रावधान रहेको छ ।

सम्बन्धित खवर