आरसिडी स्पान्यो लरियाल भालाडोलिडसँग २-१ ले पराजित

आरसिडी स्पान्यो लरियाल भालाडोलिडसँग २-१ ले पराजित

डेविड लोपेजले २८औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि १० जनामा सीमित भएको आरसिडी स्पान्योल स्पेनिस ला लिगमा आइतबार राति रियाल भालाडोलिडसँग २-१ ले पराजित भएको छ।

१६औं मिनेटमा पहिलो पहँलो कार्ड पाएका लोपेजले २८औं मिनेटमा दोहोर्‍याउँदा मैदानबाट बाहिरिनु परेको थियो। तर, पहिलो हाफ गोलरहित बराबरीमा रोक्न सफल भए पनि स्पान्योलले अन्तिमको १३ मिनेटमा दुई गोल खाँदा पराजित हुनुपर्‍यो।

भालाडोलिडका सान्ड्रो रामिरेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट नबित्दै सर्जी ग्वार्डिओलाले एनेस उनालको पासलाई जाली चुमाउँदै टोलीको अग्रता दोब्बर पारे।

एक खेलाडी गुमाएर संघर्षरत स्पान्योलका लागि इन्जुरी मिनेटमा पाएको पेनाल्टीमार्फत एड्री एम्बार्बाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै २५ खेलबाट २९ अंक जोड्दै भालाडोलिड तालिकाको १५औं स्थानमा उक्लिएको छ भने समान खेलबाट १९ अंक जोडेको स्पान्योल २०औं स्थानमा रहेर रेलिगेसनबाट बच्न संघर्षरत छ।

सम्बन्धित खवर