भैँसीपालन गरेर मासिक ५० हजार आम्दानी गर्दै गाउँपालिकाकी उपाध्यक्ष

भैँसीपालन गरेर मासिक ५० हजार आम्दानी गर्दै गाउँपालिकाकी उपाध्यक्ष

सल्यान : त्रिवेणी गाउँपालिका –३ रिखेबगरकी वर्ष ३५ की करुणा खडका त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष हुन् ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा उनी उपाध्यक्ष पदमा निर्वा्चित भएकी हुन् ।

जनप्रतिनिधि भएपछि धेरैले आफ्नो पुरानो पेशा व्यवसायलाई त्यागी रहेको समयमा उनी भने आफ्नो व्यवसायलाई झनै बढाउँदै छन्। उनले आफ्नै नामबाट बहुउद्देशीय कृषि फर्म खोलेर भैँसीपालन गर्दै आएकी छन्। २०६४ देखि तीनवटा भैँसीपालेर सुरुवात गरेको फर्ममा अहिले सानाठूला गरी १३ वटा भैँसी रहेका छन्।

भैँसीपालन गरेर मासिक ५० हजार आम्दानी गर्दै आइरहेको उनको भनाइ छ। भैँसीलाई दाना, काम गर्ने व्यक्तिको पारिश्रमिक कटाएर मासिक १५ देखि २० हजार बचत भइरहेको खड्काले बताइन्।

१३ वटा भैसीमा पाँच साना, आठ ठूलामध्ये एक राँगो रहेको र अहिले पाँच भैँसीले दैनिक २० लिटर दूध दिँदै आएको खड्काले बताइन। ७० रुपैयाँ प्रतिलिटर बिक्री गर्दा दैनिक १ हजार ४ सय आम्दानी हुने गरेको उनको भनाइ छ।

भैँसीपालनबाट घरका दुईजना मात्र नभई गाउँका दुईजना गरी चारलाई रोजगारी मिलेको उनले बताइन्। उनले भनिन् ‘बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म जनताको काम गर्छु। बिहान बेलुकी फुर्सद भएको समयमा मैले हेर्छु’ उनले भनिन ‘दिउँसो कामदारले हेर्ने गर्छन्।’ उपाध्यक्ष खड्कालाई श्रीमान् खड्गबहादुर खड्काले भैँसीपालनमा सघाउँदै आएका छन्। भैँसीपालन गरेर उत्पादन भएको दूध काभ्रा र रिखेबगर बजारमै खपत हुँदै आएको उनले जानकारी गराइन्।

भैँसीपालन रोजगारीको राम्रो माध्यम भएकाले विदेशमा गर्ने मेहनत घरमै गर्न सके छोटो समयमै राम्रो कमाई गर्न सकिने खड्गबहादुरले बताए। भैँसीपालन गर्दा दूध मात्र नभई कम्पोष्ट मल उत्पादन हुने उक्त मल खेतबारीमा प्रयोग गर्न सकिने उनको भनाइ छ।

सम्बन्धित खवर