सोलुको विद्युत सिराहामा जोड्न म्याद थप्दा पनि काम सकिएन

सोलुको विद्युत सिराहामा जोड्न म्याद थप्दा पनि काम सकिएन

सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम नसकिएपछि दोश्रो पटक म्याद थपिने भएको छ ।
आयोजनाले निर्धा्रित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ ।
जनवरी २०२० सम्ममा काम सक्ने गरी पहिलो पटक थपिएको म्यादमा पनि काम नसकिएपछि फेरी थप्न लागिएको हो ।
२५ सेप्टेम्बर २०१६ देखि काम शुरु गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महिना अवधिसम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ
आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ ।
ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको उनले बताए ।
मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानिसकिएको छ । अबको पाँच महिनाभित्र सम्पन्न गरिसक्ने र यसका लागि सहयोगका पु¥याउन आयोजना प्रमुख गौतमले अनुरोधसमेत गरे ।
उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने जनाइएको छ । पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो ।
सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत््लाई सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।
सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका छ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । ती मध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको छ । ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
निर्माण सम्पन्न भइसकेको विद्युतलाई तिङ्लामा निर्माण सम्पन्न भएको ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना रहेको छ ।
४ माघमा सोलुदुधकुण्ड नगरपालिकाको पत्तालेमा सोही केन्द्रीय प्रसारण लाइनको उद्घाटन गर्ने कार्यतालिका भए पनि स्थानीयको अवरोधका कारण सफल भएन ।

सम्बन्धित खवर