काठमाडौं । सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालेको छ ।
गाउँपालिकाभरिका जुनसुकै स्थानमा स्थायी बसाइँ आउने घरपरिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले दुहुनो गाई उपहार दिन थालिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।
‘मधेसलगायत अन्य क्षेत्रमा बसाइँ जाने क्रममा कमी ल्याउँछ’ उनले भने ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ ।’
कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको छ । अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयाँ घरिबार बसाइँ आएका छन् ।
नयाँ घरपरिवारले दुहुनो गाई माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन् ।
नयाँ घरपरिवारलाई प्रतिगाई खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईले बताए ।
उनका अनुसार बसाइँ आउने परिवारले गाउँपालिकामा निवेदन, बसाइँ सराइ प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिसपत्र पशुपक्षी शाखामा बुझाउनुपर्छ ।