गैँडा बचाउन घाँसे मैदानको व्यवस्थापन गरिदँै

गैँडा बचाउन घाँसे मैदानको व्यवस्थापन गरिदँै

चितवन  : घाँसे मैदान र पानीका स्रोतको अभावका कारण पछिल्लो समय दुर्लभ एकसिङ्गे ग्रैँडा मर्ने क्रम बढेको छ । गत आर्थिक वर्षमा मात्र प्राकृतिक कारणले गर्दा चितवन राष्ट्रिय निकुञ्जमा ४३ वटा गैँडा मरेका थिए ।

यस वर्ष पनि प्राकृतिक कारणले नै १८ गैँडा मरिसकेका छन् ।  प्राकृतिक कारणले गैँडाहरु मर्न थालेपछि निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गर्न थालेकाे छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गरिदैँछ । निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै  तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

ती मध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न तीन करोड रुपैयाँ र पुरानो १०० हेक्टरमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको उनले बताए ।ठेकेदार कम्पनीले एक करोड ८७ लाख रुपैयाँमा सबै काम गर्न मानेको बताउँदै केही दिनभित्र काम थालिने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

निकुञ्जका नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ ।

प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्न निकासा भएको जानकारी दिए । गत वर्ष १९ लाख रुपैयाँमा मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो । उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने छ ।

यसका लागि उपकरण समेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो तीन वर्षभित्र एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ ।

चालु आवमा ४९  पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गर्ने कार्यक्रम  छ । निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा  भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तिनको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ ।

दुई वर्षअघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए । चैत महिनामा गैँडा गणना समेत गरिँदै छ । पछिल्लो गणनानुसार निकुञ्जमा ६ सय ५ गैँडा  छन् । पछिल्ला वर्षमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।

सम्बन्धित खवर