सञ्चारमन्त्री बाँस्कोटाले आजै राजिनामा दिने

सञ्चारमन्त्री बाँस्कोटाले आजै राजिनामा दिने

सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आजै राजिनामा गर्ने भएका छन । सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्बजनिक भएपछि उनले राजीनामा गर्ने तयारी भएको हो । आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि उनले राजीनामा दिने छन । सार्वजनिक भएको अडियोका विषयमा भने सञ्चारमन्त्री बाँस्कोटाले नखाएको बिस नलाग्ने आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको प्रतिकृया दिइसकेका छन्।

यो अडियो सार्वजनिक भएपछि प्रतिपक्ष नेपाली काँग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ भने पूर्व माओवादी र कतिपय एमालेकै नेताहरुले पनि राजीनामा गर्नै पर्ने बताएका छन्। स्मरण रहोस सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो। प्रस्ताव अस्विकृत भएलगत्तै स्विस कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओली समेत यो अडियो यसअघि नै सुनाईसकेको छ । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’ अडियो सार्वजनिक भएको छ ।

काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ । स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए ।

जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए । तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए । तर बिहिबार (फागुन ८ गते) लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप सार्वजनिक गराएको थियो ।

अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि सरकारले तयारी पनि थालेको थियो । यसै सम्बन्धमा स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो । स्वीस कम्पनीले बिल्डिङ सहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।

अहिले स्वीस कम्पनीले बिल्डिङ सहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो । ३७ अर्ब रुपैयाँ सेक्युरिटी प्रेसको सामान तथा सुरक्षा उपाय र करिब ३ अर्ब रुपैयाँ बिल्डिङका लागि खर्च गर्ने भनिएको थियो । आफूले ठेक्का नपाउने स्थिति आएपछि मिश्रले उक्त अडियो बुधबार साँझ विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए ।

सम्बन्धित खवर