दादुरा रुवेला विरुद्धको अभियान सुरु

दादुरा रुवेला विरुद्धको अभियान सुरु

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा र रुबेला विरुद्धको खोप तथा पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रम आजदेखि सुरु भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका बालबालिकालाई खोप लगाउने र औषधि खुवाउने अभियानको सुरुवात गर्नुभयो ।

विद्यालयहरुमा केन्द्र बनाएर सञ्चालित कार्यक्रममा पहिलो दिन वडा नम्वर १ को एभरेष्ट, भूपु सैनिक, १० को जालपासिंहदेवी, हिरक, ५ को सहिद रामलक्ष्मण विद्यालयमा खोप लगाउने र औषधि खुवाउने काम गरिएको स्वास्थ्यकर्मी जगत मगरले वताउनु भयो ।

खोप लगाउने र औषधि खुवाउने कार्यक्रममा वडाका पायक पर्ने ३८ वटा विद्यालयहरुलाई केन्द्र बनाएर कार्यक्रम अघि बढाइएको छ । खोप लगाएपछि बालबालिकालाई खोप कार्ड समेत प्रदान गरिएको छ । दादुरा रुबेला एकप्रकारको भाइरसबाट हुने समस्याको निवारणका लागि १६ गतेसम्म अभियान सञ्चालन गरिने छ ।

३ वर्ष अघि पूर्ण खोप सुनिश्चिताको मापदण्ड पुरा गरेको नगरमा एकैसाथ दादुरा रुबेलाको खोप र पोलियोको समेत औषधि खुवाइने कार्यक्रम तय भएको हो । ८० प्रतिशत हाराहारीमा खोप लगाएको अवस्था रहिरहेको नगरमा जन्मेको ९ महिनादेखि ५ वर्षभित्रका ५ हजार ५ सय ८९ बालबालिकालाई दादुरा रुबेलाको खोप र ६ हजार ६ सय ३० बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य बनाइएको छ ।

सम्बन्धित खवर