एउटा सुमन आउट हुदाँ अर्काे सुमनको चर्चा बढ्यो

एउटा सुमन आउट हुदाँ अर्काे सुमनको चर्चा बढ्यो

 

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपाधि दावेदारका रुपमा हेरिएका सुमन कार्की टप ५ बाट बाहिरिएका छन् । प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै दर्शकको मन जितेका उनले पर्याप्त भोट भने पाउन सकेनन् ।

टप ५ मा उनले दिएको प्रस्तुति औसत थियो । नेपाली भाषामा अंग्रेजीको घुसपैठलाई लिएर व्यंग्य रचना गरेका उनको प्रस्तुतिलाई जजहरुले प्रशंसा गरेका थिए । तर, सुमन कोइराला, खड्गबहादुर पुन मगर, विष्णुप्रसाद (मेक्सम) गौडेल र हिमेश पन्त टप ४ मा छनोट हुँदा कार्की बाहिरिनु परेको छ । उनी आउट हुँदा चारैजना जजहरु स्तब्ध देखिएका थिए । कार्कीलाई गुमाउँदा कमेडी च्याम्पियन खल्लो बनेको भनेर युट्यूवमा पनि थुप्रै टिप्पणी आएका छन् ।

पछिल्ला दुई एपिसोडमा कमजोर देखिएका हिमेशलाई दर्शकको भोटले जोगाएको छ । यति मात्र होइन, हिजोको एपिसोडमा ‘पर्फमर अफ द डे’ बनेर उनले सिधै टप ३ मा स्थान बनाएका छन् । अब बाँकी दुई सिटका लागि सुमन कोइराला, खड्गबहादुर पुन मगर र मेक्सम गौडेलले प्रतिस्पर्धा गर्नुपर्ने छ । टप ३ मा पुग्नेहरु फाइनल राउन्डमा उपाधिका लागि भिड्नेछन् ।

जजहरुले हिमेशलाई संरक्षण गरे पनि हिजोको एपिसोडमा सुमन कोइरालाको प्रस्तुति उत्कृष्ट थियो । यसअघि ‘दले दाई’ बनेर तहल्का पिटेका उनले फेरि एकपटक स्टेजमा आगो बाले । सुमनको प्रस्तुतिले नेपालको ग्रामिण क्षेत्रको दुर्दशालाई हास्यव्यंग्यात्मक पारामा उजागर गरेको थियो । स्वस्थ्यचौकीमा डाक्टर नहूँदा पिउन/पालेले जनताको जनताको स्वास्थ्य उपचार गरिररहेको यथार्थलाई उनले निकै रोचक तवरले पेश गरे ।

‘मुसाको औषधी माग्न आए, मैले दिएर पठाइदिएँ तर बिरामी त औषधी खाएर मरेछन् । पछि पो थाहा भयो मुसा त उनको खुट्टामा आएको रहेछ,’ कोइरालाको यो पञ्चलाइनले निकै ताली खायो ।

उनले कार्यक्रममा अतिथिको रुपमा सहभागी नायिका प्रियंका कार्कीलाई पनि घोचपेच गर्न भ्याए ।

उनले भने, ‘म मान्छेको अनुहार हेरेरै रोग पत्ता लगाइदिन्छु । प्रियंका दिदी तपाईंको जिभ्रो चिप्लिने रोग छ होइन ? आँपको अचार खानुस ठिक हुन्छ ।’

प्रियंकाका हुनेवाला पति आयुष्मान देशराजलाई सामाजिक सञ्जालमा ‘चुसेको आँप’ भन्दै उडाउने गरिएको छ । त्यसैलाई जोडेर सुमनले प्रियंकामाथि घोचपेच गरेका थिए । तर, यसले प्रियंकालाई खुशी तुल्याएन ।

‘तपाईंको प्रस्तुति राम्रो छ, तर आँपवाला जोक्स चाहिँ मैले लाखौंपटक सुनिसकेको हो,’ उनले असन्तुष्टि व्यक्त गर्दै भनिन् ।

हिजो हिमेशको प्रस्तुति चाहिँ राजनीतिक व्यंग्यमा केन्द्रित थियो । उनले आफ्नो प्रस्तुतिमा खासै नयाँपन दिन सकेनन् । यद्यपि, अघिल्ला दुई एपिसोडको तुलनामा उनी आत्मविश्वासी देखिएका थिए ।

सम्बन्धित खवर