सरस्वती मावि इटहराको स्वर्ण जयन्ती सम्पन्न

सरस्वती मावि इटहराको स्वर्ण जयन्ती सम्पन्न

 

प्रबेश बिष्ट, रतुवामाई ।

सरस्वती माध्यमिक विद्यालय इटहराको स्वर्ण जयन्ती समारोह आज फागुन ६ गते सम्पन्न भएको छ । फागुन २ गतेबाट सुरु भएको स्वर्ण जयान्ती आज साँझ सम्पन्न भएको हो ।

स्वर्ण जयन्ती समापन समारोहमा अर्धशताब्दि स्मारकका रुपमा निमार्ण गरिएको स्वर्ण जयन्ती प्रबेश द्वारको उद्घाटन गरियो । प्रबेश द्वारमा जडान गरिएको सिलालेख अनावरण गरी १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो । यसैबीच विद्यालयमा शैक्षिक सत्र २०७८ देखि प्राविधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने घोषण पनि गरियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले अबको युग प्रविधिको युग भएको भन्दै ३० प्रतिशत साधारण र ७० प्रतिशत प्राविधिक शिक्षा दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । यसै अनुसार प्रदेश सरकारले प्रारम्भिक चरणमा प्रदेशका १०० वटा माध्यमिक विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम संचालन गरिरहेको उहाँले बताउनु भयो ।

विद्यालयको १०० मिटर आसपासका क्षेत्रमा मधु, गुड्खा लगायतका सुर्तीजन्य पदाथको बिक्रीवितरण र प्रयोगमा रोक लगाउने कानुन जारी भइसकेको उहाँले जानकारी गराउनु भयो । यस नियमलाई पालना गर्न गराउन विद्यालयका प्रधानाध्यापकले देखिने ठाँउमा यस सम्बन्धी सूचना पाटी राख्नुपर्ने अन्यथा ५ हजार रुपैया जरिवाना गराइने व्यवस्थो रहेको पनि उहाँले जानकारी गराउनु भयो । सरस्वती माध्यमिक विद्यालयले विगतमा आर्जन गरेको प्रतिष्ठाको प्रशंसा गर्दै मन्त्री घिमिरेले शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन आग्रह गर्नुभयो ।

समारोहमा पूर्व प्रधानाध्यापक टीकेन्द्रबहादुर पोमू र तत्कालिन सञ्चालक समितिका अध्यक्ष डिल्लीराम गुरागाईलाई अभिनन्दन पनि गरियो । पोमूलाई उहाँका पूर्व विद्यार्थी एवं संविधान सभा सदस्य ऋषिकेश पोखरेलले दोसल्ला ओढाउनु भयो । त्यसैगरी गुरागाईलाई संविधान सभा सदस्य गंगादेवी डाँगीले दोसल्ला आढाउनु भयो । गुरागाई तत्कालिन इटहरा गाँउ पञ्चायतको प्रधानपञ्च हुँदा डाँगी उपप्रधानपञ्च थिइन् ।

पोमूले २०३६ देखि २०७१ सम्म शिक्षण गर्नु भएको थियो । यसबीचमा उहाँले ३३ वर्ष प्रधानाध्यापकका रुपमा विद्यालयको नेतृत्व गर्नु भएको थियो । गुरागाँई २०२९ देखि २०४७ सम्म संचालक समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

समारोहमा विद्यालयका पूर्व विद्यार्थी एवं न्याय परिषद् सचिवालयका सहसचिव मानबहादुर कार्कीको शुभकामना वाचन गरेर सुनाइयो । आफू उपस्थित हुन नसकेपछि उहाँले लिखित रुपमा स्कुल पढ्दाका सम्झनाहरुको स्मरण गर्दै शुभकामना मन्तव्य पठाउनु भएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी डिवी कार्कीले विद्यालयमा २ लाख रुपैयाको अक्षय कोष स्थापना गर्ने घोषण गर्नु भयो । त्यसैगरी विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गिय नीतिरमण दवाडीको स्मृतिमा उहाँका छोरा रोहिण्ीरमण दवाडीले पनि २ लाख रुपैयाको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

प्राविधिक कारणले छापाखानाबाट ढिलो गरी आइपुगेको भन्दै साँझपख स्वर्ण जयन्ती स्मारिका लोकार्पण गरियो । रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तादेवी चुडाल र वडा नम्बर ८ का वडा अध्यक्ष नन्दकुमार चापागाँईले संयुक्तरुपमा स्मारिकाको लोकार्पण गर्नुभयो ।
सरकारी सेवाको प्रथम श्रेणीमा कार्यरत विद्यालयका पूर्व विद्यार्थीहरुलाई स्मारिकामा महत्वका साथ चिनाइएको छ । यसमा न्याय परिषद् सचिवालयका सहसचिव कार्की सहित, सम्पति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराई, काठमाडाँै जिल्ला अदालतका जिल्ला न्यायधिश सुभाषबाबु पुरी, जिल्ला प्रशासन कार्यलय इलामका प्रमुख जिल्ला अधिकारी तुलसी सेडाई र ललितपूर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई हुनुहुन्छ । २८० पृष्ठको स्मारिकामा संस्मरण, लेख रचना र अभिलेख गरी तिन खण्डमा सामग्रीहरु प्रकाशित छन् ।

समारोहमा वरिष्ठ गायक रामकृष्ण ढकाल आउने भनेर प्रचार गरिएको भए पनि उनको उपस्थिति हुन सकेन । मौसमका कारण जहाज उड्न नसकेपछि उनी आउन नसकेको कार्यक्रमको अन्त्यतिर विद्यालयले जानकारी गराएको थियो ।

समारोहमा सन्थाल जातीको परम्परागत नाँच र लिम्बु जातीको च्याब्रुङ नाँच समेत प्रस्तुत गरिएको थियो । त्यसैगरी स्वर्ण जयन्तीमा आयोजित खेलकुद तथा सिर्जनात्मक प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार पनि प्रदान गरियो ।

सम्बन्धित खवर