सुनवर्षीमा मेयर कप फुटबल हुने

सुनवर्षीमा मेयर कप फुटबल हुने

भीमराज अधिकारी, पथरी

मोरङको सुनवर्षी नगरपालिकामा मेयर कप फुटबल खेल हुने भएको छ । फागुन १६ गते देखि मेयर कप आयोजना गर्ने तयारी भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

मोरङका १७ वटै स्थानीय तहहरुलाई समेटेर अन्तर पालिका स्तरीय मेयर कप फुटबल आयोजना गर्न लागिएको आयोजक टिमका अध्यक्ष यादब बस्नेतले जानकारी दिनुभयो । खेल आयोजना गर्नका लागि ९० प्रतिशत तयारी पुरा भएको बस्नेतले जानकारी दिनुभएको छ । सबै पलिकाहरुलाई पत्रचार गरेर सहभागी हुने नहुने टुङ्गो लागेपछि मात्रै टाइसिट तयार गरिने यादवले जानकारी दिनुभयो । अहिले सम्म करिब १४ वटा पालिकाका टिमले खेलमा सहभागी हुने जानकारी दिएको यादवले बताउनुभयो । खेल संचालनका लागि नगरले १० लाख रुपैँया विनियोजन गरेको छ । खेलमा विजेता टिमले १ लाख २१ हजार र उपविजेता टिमले ६५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने बस्नेतले जानकारी दिनुभयो ।

खेल अवधीभरमा नगरका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने तयारी आयोजकको रहेको छ । भ्रमण वर्षलाई लक्षित गरेर नगरका पर्यटकीय गन्तव्यहरुको पनि खेलमा प्रचार गरिने बस्नेतले बताउनुभयो । खेलअवधीभरमा पत्रकार, नगरका जनप्रतिनिधि, कर्मचारी लगाएतको मैत्रीपूर्ण खेल समेत हुने बस्नेतले बताउनुभयो । खेल विरेन्द्र सार्वजनिक माविको खेल मैदान अमरदहमा हुने जनाइएको छ ।

नगरका युवाहरुको समुहलाई एकजुट बनाउन, खेलाडीहरुलाई प्रोत्साहित गर्न नगर कप आयोजना गर्ने गरिएको नगरप्रमुख कालि प्रसाद दासले बताउनुभयो । अघिल्ला वर्षहरुमा डायनीय आसपासमा मेयर कप क्रिकेट आयोजना गर्दै आएकामा यो वर्ष अमरदहमा फुटबल गर्न लागेको दासले बताउनुभयो । खेलका माध्यमबाट युवाहरुलाई एकजुट बनाउदै समृद्ध नगर बनाउन एकजुट हुन भन्ने उद्देश्यले मेयर कप आयोजना गरिएको दासले बताउनुभयो । दासले खेलको पूर्ण सफलताको कामना गर्दै सुनवर्षीका खेलाडीले देश तथा विदेशमा किर्तिमान कायम गर्न शुभकामना दिनुभयो । प्रत्रकार सम्मेलनका प्रमुख अतिथि रहनुभएका दासले खेल अवधिभर व्यवस्थापन चुस्त राख्न आयोजकलाई निर्देशन दिनुभयो ।

नगरमा फुटबल खेलाडीको संख्या न्यून रहेको अवस्थामा यो फुटबल खेलले नयाँ खेलाडी उत्पादन गर्न सक्ने वडा नं. २ का अध्यक्ष प्रताप तामाङले बताउनुभयो । खेल सम्पन्न गर्नका लागि आफ्नो साथ र सहयोग रहने बताउदै तामाङले सबैले सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।

सम्बन्धित खवर