नेपालकै पहिलो युद्ध संग्राहलय बनाउने काम सुरु

नेपालकै पहिलो युद्ध संग्राहलय बनाउने काम सुरु

सिन्धुली ३ फागुन – कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले नेपालकै पहिलो युद्ध संग्राहलय बनाउन सुरु गरेको छ ।

नेपाल एकिकरणका बेला अंग्रेज फौजलाई हराएर बिरासत बोकेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत यु’द्ध सङग्राहलय बनाउन सुरु गरिएको हो । सिन्धुलीगढीमा यु’द्ध सङग्राहलय निर्माण गर्न गत कात्तिक २४ गते उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले एक बिशेष सहारोह बीच शिलान्यास गर्नु भएको थियो । उक्त सङग्राहलय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको छ ।

 

नेपाली सेनाको पूर्व–पश्चिम एकिकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियान अन्तर्गत सिन्धुलीगढीमा यु’द्ध सङग्राहलय निर्माण सुरु गरिएको उक्त गणका गणपती राजिब थापाले जानकारी दिनुभयो ।

चार करोड १७ लाख रुपियाँ लागतमा २०७७ असार मसान्तभित्र सक्ने गरी दुई सातअघि देखि युद्ध सङग्राहलय निर्माण सुरु गरिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सिलान्यास भएको नौ महिनाभित्र उक्त सङग्राहलय निर्माण पुरा गर्ने लक्ष्य छ । अहिले धमाधम जगको काम भई रहेको छ ।” रक्षा मन्त्रालयबाट स्विकृत लिएर सङग्राहलय निर्माण सुरु गरिएको गणपति थापाले बताउनुभयो ।

सङग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिने उक्त गणले जनाएको छ । गणका अनुसार पुरानो र नयाँ मिश्रित मोडलमा सङग्राहलय निर्माण हुनेछ । सङग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन युद्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत सङग्रहित गरि राखिने छ ।

गणपति थापले भन्नुभयो, “करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा छ कोठे एक तल्ले सङग्राहलय बन्न लागेको हो । उक्त लागत स्ट्रक्चर निर्माणको मात्र हो । सङग्राहलयको आन्तरिक सजावट कमलामाई नगरपालिकाको बजेटबाट गर्ने गरी समन्वय र छलफल भई रहेको छ ।”

नेपाल एकिकरणका बेला गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुली जिल्लाको सिन्धुलीगढी, मक्वानपुर जिल्लाको मक्वानपुरगढी, रौतहट जिल्लाको समनपुर र रुपन्देही जिल्लाको जितगढी युद्धमा हराएको ईतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध सङग्राहलय बनाउने योजना अघि सारेको उहाँले सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “सोही योजना अन्तर्गत सिन्धुलीगढीमा युद्ध सङग्राहलय बनाउन सुरु भई सकेको छ । बाँकी तीन स्थानमा भने आगामी आर्थिक बर्षबाट निर्माण सुरु गर्न छलफल भई रहेको छ ।”

कमलामाई नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार नेपाल सरकारले गत बर्ष घोषणा गरेको नयाँ पर्यटक गन्तव्य मध्येको एक ऐतिहासिक सिन्धुलीगढीको मुख्य दरबार ( ठुलो गढी ) प्रदेश नं ३ सरकारले बनाउने भएको छ । प्रदेश सरकारले बहुबर्षे योजनामा समेटेर सिन्धुलीगढीको मुख्य दरबार बनाउने भएको हो । मुख्य दरबारलाई जस्ताको त्यस्तै बनाउनका लागि प्रदेश सरकारले चालु आर्थिक बर्ष चार करोड रुपिया बजेट बिनियोजन गरेको छ ।

महाभारत क्षेत्रको करिव पाँच देखि छ हजार फिटको उचाईमा सिन्धुलीगढी रहेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तरतर्फ र राजधानीबाट १४० किलोमिटर पूर्वमा सिन्धुलीगढी रहेको जनाईएको छ ।

बरिष्ठ सामाजिक विकास अधिकृत ढकालले भन्नुभयो, “नेपाल एकिकरणका बेला बिं. सं. १८२४ मा काठमाण्डौ कब्जा गर्न किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई युद्धमा हराएर गोर्खाली सेनाले बिरासत कमाएको ठाँउ सिन्धुलीगढी हो ।”

युद्ध सङग्राहलय निर्माणसँगै चियाबारीदेखि सिन्धुलीगढीसम्म पाँच किलोमिटर लामो किनलोक पदमार्ग निर्माण पनि गरिने भएको छ । सामरिक दृष्टिकोणले महत्वपुर्ण स्थानमा अवस्थित सिन्धुलीका दुई प्रमुख ऐतिहासिक सम्पदाहरु सिन्धुलीगढी र हरिहरपुरगढी जोड्न एकिकरण पदमार्ग गत बर्षदेखि निर्माण सुरु भई सकेको छ ।

नेपाल एकिकरणका दौरानमा पृथ्विनारायण शाह र उहाँको फौजले प्रयोग गरेको मार्गलाई जोडेर पदमार्गको रुपमा बिकास गर्न हरिहरपुरगढी देखी सिन्धुलीगढी ७२ किलोमिटर लामो पदमार्ग निर्माण सुरु गरिएको गणपति थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर