इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेल लगायतले सफाइ पाएको अपहरण मुद्दामा पुनरावलोकन माग गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले ’मानव अपहरण तथा शरीर बन्धक मुद्दा’को फैसलाका क्रममा गम्भीर त्रुटि भएको भन्दै सर्वोच्च अदालतमा पुनरावलोकन माग गरेको हो।
सफाइविरुद्ध पीडित भनिएका दुर्गा बहादुर अधिकारीले फैसलासहित निवेदन दिएपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन लागि सर्वोच्चमा प्रक्रिया अघि बढाएको हो। इटहरी काङ्ग्रेसका नेता पौडेललाई विधि र प्रक्रिया विपरीत नै सफाई दिएको विषयमा तत्कालिन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आदेश दिएको पीडित दुर्गाबहादुर अधिकारीले बताउँदै आएका थिए।
३ वर्ष कैद सजाय सुनाइएका पौडेललाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले सफाइ दिएको थियो। २०६९ सालमा इटहरीका दुर्गा अधिकारीलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्नेबारेमा जिल्ला अदालत सुनसरीले साढे ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो।
जिल्ला तथा पुनरावेदन अदालतको आदेशलाई उल्ट्याउँदै सर्वोच्चबाट पौडेल सहित सुर्य राई, अचित श्रेष्ठ र रोशन तामाङले पनि सफाइ पाएका थिए। सर्वोच्चको आदेश आउँदै गर्दापनि ’जिल्ला तथा पुनरावेदन अदालतमा गहन बहस भएको मुद्दामा बिनाप्रमाण र सर्वोच्चको प्रचलित कार्य्विधी नै मिचेर सर्वोच्चले मुद्दा उल्ट्याएको’ भन्दै न्याय परिषद्मा उजुरी दर्ता भएको समेत थियो। न्याय परिषद्मा उजुरी दर्ता गर्दै दुर्गा अधिकारीले प्रचलित कार्य्विधि र सर्वोच्च अदालतको नियामावली मिचेको उल्लेख गरेका छन । थाहाखबर
