वडामा अझै ० प्रतिशत काम, विकास निर्माणमा किन ढिलाई ? वडागत विवरण सहित

वडामा अझै ० प्रतिशत काम, विकास निर्माणमा किन ढिलाई ? वडागत विवरण सहित

भीमराज अधिकारी र फिपराज बेधा, पथरी

विकास निर्माणमा सुस्तता हुनु नेपालको राष्ट्रिय रोग हो । यो पुरानो रोग उपल्लो निकायमा मात्रै हुने गरेको सुनिन्थ्यो । अहिले स्थानीय तहमा सरुवा रोग जस्तै सरेर आइपुगेको छ । समयमा विकास बजेट खर्च हुन सकेन भनेर वर्षै पिच्छे सरकासरको आलोचना हुने गरेको छ । स्थानीय तहको भने त्यति कुरा सुनिदैन, सायद बजेट दायरा सानो भएर पनि हुन सक्छ । तल्लो स्तरमा कस्ले खोज्ने र कस्ले लेख्ने ? अहिले आर्थिक वर्षको पौष मसान्त सकिएको महिना वितिसक्दा पनि वडागत योजनाहरु ५० प्रतिशत पुग्न सकेका छैनन् ।

मोरङ पथरी शनिश्चरे नगरपालिका कुनैपनि वडाहरुमा योजना फरफराकको अवस्था हेर्ने हो भने ५० प्रतिशत पुगेको छैन् । केही वडाहरुमा त उपभोक्ता समिति बनाउने र सम्झौता गर्ने काम समेत भएको छैन् । पथरी शनिश्चरेमा चालु आर्थिक वर्ष २०७६/०७७ का लागि प्रत्येक वडामा १ करोडका दरले सिलिङ बजेट तोकिएको थियो । हाल सम्म वडागत रुपमा योजना कार्यान्वयनको अवस्था यस्तो छ ः
वडा नं. १ पथरी बजार

यो वडा नगरकोे मुख्य बजार भएको क्षेत्र हो । यहाँ विकासका लागि कुनैपनि काम नचाहिने जस्तो देखिएता पनि अझै करोडौँका कामहरु बाँकी रहेको वडा अध्यक्ष बाबुराम एङ्देन बताउनु हुन्छ । वडामा विनियोजन भएको १ करोड मध्ये ९० लाख विकास बजेट रहेको छ । वडामा जम्मा २९ वटा योजना रहेको एङ्देनले बताउनुभयो । सो मध्ये २० वटा विकास योजना रहेका छन् । जम्मा २९ वटा मध्ये ४ वटा योजना सम्पन्न भएको एङ्देनले बताउनुभयो । विकास निर्माणका १८ वटा योजना सम्झौता भएकामा २ वटा योजना सम्पन्न भएका छन् । विकासका २ वटा योजना भने सम्झौता हुन बाँकी रहेको छ । लक्षित वर्गको जेष्ठनागरिक र ड्राइभिङ तालिम गरेर २ वटा योजना सम्पन्न भएका छन् । अन्य ७ वटा योजना सम्झौता हुन बाँकी रहेका छन् । वडाको सबैभन्दा ठुलो योजना ९ लाख लागतको देविथान मार्ग पनि सम्झौता भइसकेको छ । कुनैपनि विवाद नआएमा चैत्र मसान्त भित्रमा वडाका सबै योजना सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष एङ्देनले बताउनुभयो । हाल सम्म १ नं. वडामा १४ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ ।

यी बाहेक वडामा संघ र प्रदेश सरकारबाट पनि योजनाहरु परेका छन् । संघीय सरकारको सांसद विकास कोषबाट पथरी बहुमुखी क्याम्पसलाई ७० लाख, तराइ मधेस समृद्धि कार्यक्रम मार्फत नर्वदेश्वर शिवालय मन्दिरलाई २५ लाख, प्रदेश सांसद विकास कोषबाट नर्वदेश्वर शिवालय मन्दिरलाई १० लाख र सुनाखरी देखि भूपुशैनिक जाने सडकका लागि १५ लाख बजेट रहेको एङ्देनले बताउनुभयो । नगरको मठमन्दिर शीर्षकबाट २ लाख र सिंचाइबाट ३ लाख थप बजेट आएको छ ।

वडा नं. २

पथरी बजारबाट पूर्वमा २ नं. वटा रहेको छ । बुद्धचोक र आसपासको क्षेत्र भएकाले विकासले पनि निकै फड्को मारेको वडा हो २ नं. वार्ड । यस वडामा जम्मा ३२ वटा योजनाहरु रहेको वडा अध्यक्ष याम प्रसाद गुरागाँईले बताउनुभयो । जसमध्ये लक्षित वर्गका ६ वटा योजनाहरु रहेका छन् । १ करोड सिलिङ बजेट मध्ये ९० लाख विकास बजेट रहेको छ । ३२ वटा मध्ये १९ वटा योजनाहरु सम्झौता भइसकेका छन् । ५ वटा योजनाहरु हाल सम्म फरफरकका लागि सिफारिस गरिएको अध्यक्ष गुरागाँईले बताउनुभयो । वडाको सबैभन्दा ठुलो योजनाका रुपमा वडा नं. २ र ३ को सिमानामा लाटीहोलीमा पुल निर्माणका लागि १५ लाख रहेको छ । सो योजना नगरबाट टेन्डर प्रकृयामा गएको गुरागाँईले बताउनुभयो । वडाका योजनाहरु चैत्र मसान्त सम्ममा सक्ने योजना रहेको गुरागाँईले बताउनुभयो । हाल सम्म २ नं. वडामा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ ।

यस बाहेक प्रदेश सरकारबाट जयचोक मायालुचोक सडकका लागि २५ लाख, प्रदेश सरकारबाट नै १५ ला बराबरको बजेट सडकका लागि प्रकृयामा रहेको, संघीय सरकारबाट सरस्वती आधारभूत विद्यालयलाई भवन निर्माणका लागि ३० लाखको टेन्डर प्रकृयामा गएको अध्यक्ष गुरागाँईले बताउनुभयो ।

वडा नं. ३

पथरी बजारको पूर्व दक्षिणमा रहेको वडा नं. ३ विकासका हिसाबले अझै पछाडी नै हरेको छ । यहाँका हरेक सडक र पुलपुलेसाहरु निर्माण हुने क्रममा रहेका छन् । वडामा विनियोजन भएको १ करोड सिलिङ बजेटबाट ८५ लाख विकास बजेट विनियोजन गरिएको अध्यक्ष डम्बर बहादुर चेम्जोङले बताउनुभयो । कार्यालय संचालनमा ५ लाख, लक्षित वर्गका लागि ५ लाख र विपत, आर्थिक सहयोग र मर्मत सम्भारका लागि ५ लाख विनियोजन गरिएको छ । जम्मा २३ वटा योजना मध्ये १६ वटा योजनाहरु सम्झौता भइसकेका छन् । बाँकी ७ वटा योजनाहरुको पनि उपभोक्ता समिति बन्ने क्रममा रहेको चेम्जोङले बताउनुभयो । २३ वटा मध्ये १ वटा योजना मात्रै फरफराक भएको छ । यसरी हेर्दा वडामा ४ प्रतिशत मात्रै काम सम्पन्न भएको देखिन्छ । ६ महिना वितिसक्दा पनि भर्खर ४ प्रतिशत काम हुनुले वडाको विकास निर्माणको अवस्था कस्तो छ भनेर छर्लङ्ग देखिन्छ । काम ४ प्रतिशत मात्रै सम्पन्न भएको भएपनि उपभोक्ता समिति भने ९७ प्रतिशत बनिसकेको र अधिकांश योजनाहरु संचालनमा रहेको चेम्जोङको भनाइ छ ।

वडाको सबैभन्दा ठुलो योजना वडा नं. २ र ३ सिमानाको लाटीहोली पुल निर्माणको १५ लाख बजेट हो । सो योजना नगरबाट टेन्डर प्रकृयामा गएको छ । वडाका सम्पूर्ण योजनाहरु जेठ सम्ममा सक्ने योजना रहेको अध्यक्ष चेम्जोङले बताउनुभयो ।

वडा नं. ४

पथरी बजारबाट दक्षिण पश्चिममा रहेको यो वडा क्षेत्रफलको हिसावले अन्य वडा भन्दा केही ठुलो छ । शनिश्चरे बजारको आधा भाग यही वडामा पर्दछ । वडामा १ करोड विनियोजन भएको सिलिङ बजेट मध्ये ९० लाख विकास बजेट रहेको र बाँकी १० लाख कार्यालय संचालन, आर्थिक सहयोग, विपत व्यवस्थापन र मर्मत सम्हार शीर्षकमा रहेको अध्यक्ष गोविन्द बहादुर भण्डारीले बताउनुभयो । वडाका जम्मा योजना २५ वटा रहेका छन् । २५ वटा मध्ये हाल सम्म ६ वटा योजना फरफराक भइसकेको भण्डारीले बताउनुभयो । यसरी हेर्दा वडामा २४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । उपभोक्ता समिति भने ८० प्रतिशत निर्माण भएको अध्यक्ष भण्डारीले बताउनुभयो । वडामा जनप्रतिनिधि र कर्मचारी बिचमा राम्रो तालमेल हुन नसक्नु पनि विकासका लागि बाधक बन्दै आएको छ ।

वडाको सबैभन्दा ठुलो योजना सभाहल निर्माणको पनि नगरमार्फत टेन्डर प्रकृयामा गएको भण्डारीले बताउनुभयो । यस बाहेक प्रदेश सांसद विकास कोषबाट शनिश्चरे सभागृह निर्माणका लागि डिपिआर तयार, कुशल बजार टहरा निर्माणका लागि १० लाख, हाम्रो युवा समाजका लागि २ लाख, गुरागाँईको घरबाट शान्तिचोक सडकका लागि २० लाख विनियोजन भएको छ । संघीय सरकारबाट कुशलबजारका लागि १५ लाख विनियोजन भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

वडा नं. ५

५ नं. वडा पथरी बजार दक्षिणमा रहेको सुनवर्षी नगरपालिकाको सीमाना सम्म रहेको छ । यो वडा विकासका दृष्टिले निकै पछाडी रहेको छ । साविकको हसन्दह गाविस पर्ने यो वडाको केही भाग बक्राहा खोला पारी रहेको छ । वर्षाको समयमा वारीपारीको सम्पर्क नै टुट्ने गरेको छ । वर्षात हुनसाथ बक्राहाको कहर र ढुवानले पिरोल्ने गरेको छ । १ करोड सिलिङ बजेट मध्ये ९० लाख ५० हजार विकास बजेट रहेको वडा सचिव खड्ग नारायाण श्रेष्ठले बताउनुभयो । जसमध्ये विकासका ३३ वटा योजनाहरु रहेका छन् । अन्य लक्षित कार्यक्रम १२ वटा रहेका छन् । जम्मा ४५ वटा मध्ये हाल सम्म विकास निर्माण अन्तर्गत तित्रिझाङ खेल मैदान माटो पुर्ने काम २ लाख र दलित र जेष्ठ गरी लक्षित तर्फका २ वटा गरी जम्मा ३ वटा योजना फरफराक भएका छन् । यसरी हेर्दा ५ नं. वडामा जम्मा ७ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ । पौष मसान्त सकिदा सम्म पनि बल्लतल्ल ७ प्रतिशत काम हुनुले वडाको विकास एकदमै सुस्त गतिमा भएको पाइएको छ । फागुन १५ भरिमा सम्झौता गरिसक्नुपर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो । यही गतिमा काम हुने हो भने अरु ९३ प्रतिशत काम कहिले सकिएला ? यो चासोको विषय बनेको छ ।

यस वडाको सबैभन्दा ठुलो योजना खर्साङटोल पश्चिम पथरी खोलामा पक्कि पुल निर्माण रहेको छ । सो योजना पनि अहिले सम्म ठेक्का लाग्न सकेको छैन् । वडाको अधिकांश योजना सडक निर्माण तथा मर्मत गर्ने रहेको हुँदा अब चाडैँ नै योजनाहरु सम्पन्न हुने अध्यक्ष जोग बहादुर धिमालले बताउनुभयो ।

वडा नं. ६

साविका हसन्दह गाविसमा पर्ने यो वडा नगरको पश्चिम दक्षिणको वडा हो । विकासका हिसाबले पछाडी नै रहेको यस वडामा पनि विकासका थुप्रै काम गर्न बाँकी छ । नगरको १ करोड सिलिङ बजेट मध्ये ८२ लाख ९५ हजार विकास योजना, ९ लाख ७५ हजार लक्षित कार्यक्रम, कार्यालय संचालन ५ लाख र बाँकी रकम आर्थिक सहयोग, मर्मत सम्भार लगाएतमा रहेको वडा सचिव मिना कुमारी वर्माले जानकारी दिनुभयो । विकासका योजना २६ वटा रहेका छन् । जस मध्ये १८ वटा योजना सम्झौता भएकामा १० वटा योजना सम्पन्न भएका छन् भने ८ वटा योजना संचालन भइरहेका छन् । लक्षित वर्गतर्फ ८ वटा योजना मध्ये १ वटा जेष्ठ नागरिकको योजना सम्पन्न भएको छ । यसरी हेर्दा जम्मा ३४ वटा योजना तथा कार्यक्रम मध्ये ११ वटा सम्पन्न भएका छन् । हाल सम्म ३२ प्रतिशत काम सम्पन्न भएको छ । अब बाँकी रहेको ६८ प्रतिशत योजना पनि चाडै सम्पन्न गर्ने तयारीमा रहेको वर्माले बताउनुभयो ।

वडाको सबैभन्दा ठुलो योजना किर्तिपुर देखि हिलेटोल हुदै रामजानकी विद्यालय जाने सडक स्तरोन्तीका लागि १० लाख रहेको छ । सो योजना पनि अझै सम्झौता भएको छैन् ।

वडा नं. ७

नगरको दक्षिण मध्य भागमा रहेको वडा नं. ७ विकासका हिसावले अगाडी बढिरहेको छ । नगरले विनियोजन गरेको १ करोड सिलिङ बजेट मध्ये ९० लाख विकास बजेट रहेको छ । ५ लाख कार्यालय संचालन, पत्रपत्रिका, आर्थिक सहयोग र ५ लाख लक्षित वर्गको कार्यक्रमका लागि विनियोजन गरिएको छ । विकासका योजना २८ वटा र लक्षित कार्यक्रम ६ वटा रहेको वडा अध्यक्ष कपिलमणि ढकालले बताउनुभयो । हाल सम्म २६ वटा योजना सम्झौता भएका छन् । जस मध्ये इमानसिंह चेम्जोङ मन्दिर रङरोगन र लक्षितको बालबालिका तर्फको कार्यक्रम गरी २ वटा मात्रै फरफराक भएको ढकालले बताउनुभयो । यसरी हेर्दा हाल सम्म ६ प्रतिशत मात्रै काम भएको देखिन्छ तर अधिकांश योजनाहरु सम्झौता भइसकेर काम भइरहेको हुँदा अब चाडै नै अधिकांश योजनाहरु फरफराकका लागि आउने ढकालले बताउनुभयो ।

वडाको सबैभन्दा ठुलो योजनाका रुपमा १५ लाखमा किर्तिपुर सामुदायिक भवन निर्माण हुने कामको पनि टेन्डर मार्फत सम्झौता भएको ढकालले बताउनुभयो । यस बाहेक ७ नं. वडामा प्रदेश र केन्द्रका योजनाहरु पनि रहेको ढकालले जानकारी दिनुभयो ।

वडा नं. ८

वडा नं. ८ विकासका हिसाबले पछाडी परेको वडा हो । दक्षिण पश्चिममा पर्ने यो वडामा पनि विकासका निकै योजनाहरु चलिरहेका छन् । नगरको १ करोड सिलिङ बजेट मध्ये ससर्त तर्फ कार्यालय संचालन ५ लाख, आर्थिक सहयोग १ लाख, विपत व्यवस्थापन १ लाख र मर्मत सम्भारमा ३ लाख विनियोजन गरेको वडा अध्यक्ष बाबुराम दाहालले बताउनुभयो । यस्तै निःसर्त अनुदान अर्थात भौतिक पूर्वाधार तर्फ ६० लाख ५० हजार, सामाजिक विकास तर्फ १८ लाख ५० हजार, कृषि तर्फ ५ लाख, लक्षित वर्गका लागि ६ लाख बजेट विनियोजन गरेको दाहालले बताउनुभयो । जम्मा योजना २३ वटा मध्ये १९ वटा सम्झौता भएका छन् । ति सम्झौता भएका योजनाहरु मध्येबाट ९ वटा फरफरक भइसकेको दाहालले बताउनुभयो । अन्य ७ वटा योजनाहरु पनि तत्काल फरफरकका लागि आउने तयारीमा रहेको दाहालले भनाइ छ । यसरी हेर्दा ८ नं. वडामा ३९ प्रतिशत काम सम्पन्न भएको छ । अब केही समयमा कामले अझै तिब्रता लिने दाहालले बताउनुभयो ।

वडाको सबैभन्दा ठुलो योजना ३० लाखको लागतमा दोहोलु बतासेली चोक देखि मिलन चोक सडकको स्तर उन्नती काम पनि ठेक्का लागेर काम सुरु भएको छ । यस बाहेक पनि वडामा प्रदेश र संघका योजनाहरु रहेका छन् ।

वडा नं. ९

साविक सनिश्चरेमा पर्ने ९ नं. वडा शनिश्चरे बजार पश्चिममा पर्दछ । वडामा विनियोजन भएको १ करोड मध्ये ८५ लाख विकास निर्माण, कार्यालय संचालन, विपत, मर्मत, आर्थिक सहयोग, पत्रपत्रिका १० लाख, लक्षित कार्यक्रम ५ लाखको रहेको वडा सचिव दीर्घराज रायले बताउनुभयो ।

वडामा भएका जम्मा ३६ वटा योजनाहरु मध्ये २९ वटा विकास निर्माण, ४ वटा लक्षित, ३ वटा शिक्षाका योजना रहेको रायले बताउनुभयो । विकास निर्माण २ वटा, लक्षित अन्तर्गत बालबालिकाको १ वटा, शिक्षा तर्फका ३ वटा गरेर जम्मा ६ वटा कार्यक्रम सम्पन्न भएका छन् । यसरी हेर्दा १७ प्रतिशत काम भएको पाइएको छ तर ३६ वटा योजनामा अब ११ वटा मात्रै योजना सम्झौता हुन बाँकी रहेको रायले बताउनुभयो ।

खोला नखुलेका कारण गिटी बलुवा ल्याउन नपाउदा अधिकांश योजनाका काम हुन नसकेको रायको भनाइ छ । खोला खुल्नासाथ तत्काल ८ वटा योजना फरफराकका लागि आउने उहाँको भनाइ छ । वडाको सबैभन्दा ठुलो योजनाका रुपमा ३० लाखको योजना स्वास्थ्य चौकी जानेबाटो कालोपत्रे गर्ने काम ठेक्कामा लागि सकेको छ । यस बाहेक प्रदेश सरकारबाट आनन्तद मिल पश्चिममा कल्भर्ट निर्माणका लागि १० लाख परेको छ ।

वडा नं. १०

पथरी बजारबाट नजिकै रहेको यो वडा विकासका हिसाबले केही अगाडी छ । राजमार्गसंगै जोडिएको यस वडामा पनि सिलिङ बजेट १ करोड नै विनियोजन भएको हो । १ करोड मध्ये ८१ लाख विकास निर्माण, ५ लाख कार्यालय संचालन, आर्थिक सहयोग र विपत व्यवस्थापन ५ लाख र लक्षित कार्यक्रमका लागि ९ लाख विनियोजन गरेको वडा सचिव तारानिधि सापकोटाले बताउनुभयो । वडामा जम्मा योजना ३२ वटा रहेका छन् ।

३२ मध्ये २३ वटा विकास र वाँकी सामाजिक विकास तथा लक्षित कार्यक्रम रहेको छ । हाल सम्म ४ वटा योजना मात्रै सम्झौता भएका छन् । सम्झौता भएका मध्ये पनि हाल सम्म कुनैपनि योजना फरफराक नभएको वडामा योजना फाँट हेर्ने कार्यालय सहयोगी धनकुमारी थापाले बताउनुभयो । यसरी हेर्दा वडाको प्रगति विवरण ० प्रतिशत देखिन्छ । हाल सम्म कुनैपनि काम सम्पन्न नहुनुले वडामा विकासका काममा सुस्तता छाएको पाइन्छ ।

जनप्रतिनिधिले चाँडो समन्वय गरेर उपभोक्ता समिति बनाएमा आफुहरु रातको समयमा भएपनि खटेर योजना सम्झौता गर्ने थापाको भनाइ छ । उपभोक्ता समिति नै नबनेको र सम्झौताको अनलाइन सफ्टवेयर, इन्टरनेटमा पनि समस्या आइरहने हुँदा काम गर्न असहज भएको थापाको भनाइ छ । नगरबाट फागुन १५ भित्रमा सबै योजना सम्झौता गरिसक्न निर्देशन छ तर खै कसरी सक्ने थापालाई अन्यौल छ । उपभोक्ता समिति निर्माणमा जनप्रतिनिधिको भूमिका मुख्य हुन्छ तर जनप्रतिनिधि नै कानमा तेल हालेर बसेपछि योजना कस्ले हेर्ने ?
यसरी समयमा विकासका काम नगर्ने अनि जब वर्खा लाग्छ अनि हतारमा काम गर्नाले कम गुस्तरका काम हुनेगरेको गुनासो चौतर्फी आउने गरेको छ । विकास गर्नका लागि भनेर गएका जनप्रतिनिधिले आफै नगर र वडाको योजना समयमा संचालन गर्न सकेनन् भने निर्वाचन हुनु र नहुनुले के मतलब राख्छ ?

प्रतिशतका आधारमा हेर्दा हाल सम्म वडा नं. ८ को प्रगति ३९ प्रतिशत सबैभन्दा माथि देखिन्छ भने वडा नं. १० ० प्रतिशतमा सबैभन्दा पछाडी रहेको छ । वडा नं. १ को १४ प्रतिशत, २ को १६ प्रतिशत, ३ को ४ प्रतिशत, ५ को ७ प्रतिशत, ६ को ३२ प्रतिशत, ७ को ६ प्रतिशत र ९ को १७ प्रतिशत रहेको छ ।

सम्बन्धित खवर