भीमराज अधिकारी, पथरी
मनिस राजवंशीको जन्मदाखेरी नै हातिपाइले लागेको जस्तो थियो । १६ वर्षका मनिस अहिले मोरङको सुनवर्षी २ अमरदहमा रहेको बिरेन्द्र सार्वजनिक माविको कक्षा ६ मा पढ्छन् । हातिपाइले विरुद्धको आमऔषधी खुवाउने कार्यक्रममा आएका मनिसले विगतका वर्षदेखि नै हातिपाइले विरुद्धको औषधी खाइरहेको दिदि मधु राजवंशीले बताइन् ।
सुनवर्षी वडा नं. १ गिर्दलियाका मनिसको दैनिकीमा नै समस्या भएको मधुले बताइन् । ‘‘जन्मदा पनि त्यस्तै ठुलो साइजको खुट्टा थिए । पछि अझै बढ्दै गएर झन ठुलो भयो । काठमाडौँ सम्म लेगर उपचार गर्दा पनि ठिक भएन । अहिले स्कुल जाने र घरमा बस्नै मात्रै गर्छ, उसको आफ्नो दैनिक काममा समेत समस्या छ ।’’ दिदि मधुले भनिन् ।
मनिसले आज पनि हातिपाइले विरुद्धको औषधी खाएका छन् । परिवारका सबैले विगतका वर्ष देखि नै निरन्तर खाइरहेको मधुले बताइन् । मनिसको खुट्टा हातिपाइले नै हो भनेर किटान गर्न अहिले नसकिने सुनवर्षी नगर स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले बताए । मधुका अनुसार मनिसको खुट्टा बेलुका घट्ने र विहान भएपछि पूनः सुनिन थाल्ने हुन्छ । झट्ट हेर्दा हातिपाइले नै हो भन्ने हुन्छ तर बेलुका सुक्ने भएकाले हातिपाइले नभएर अन्य रोगले त्यस्तो भएको पनि हुन सक्ने मण्डलले बताए ।
यसअघि अमरदह स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच उपमेयर मञ्जु कुमारी राईले औषधी खुवाउने कार्यक्रमको उद्घाटन गर्नुभयो । आफुले औषधी सेवन गरे पछि राईले सम्पूर्ण नगरवासीले अनिवार्य रुपमा औषधी सेवन गर्न अनुरोध पनि गर्नुभयो । अभियान आउदा गलत बुझाइका कारण औषधी नखाए पछि अपाङ् हुन सक्ने भन्दै राईले सबैले औषधी सेवन गरेर हातिपाइलेबाट बच्न सुझाव दिनुभयो ।
सुनवार्षीको टकुवा, झुर्किया क्षेत्रमा बढि प्रभावित रहेको स्वास्थ्य संयोजक मण्डलले बताउनुभयो । बढि मात्रामा मुस्लिम बस्ती, गरिबी, शिक्षाको कमी, आर्थिक अवस्था कम्जोर, औषधी खुवाउन पुग्दा घरमा नै नभेटिने जस्ता समस्याले गर्दा पनि अझै निर्मूल हुन नसकेको मण्डलको भनाइ थियो । मोरङमा सुनवार्षी नगरपालिका हातिपाइलेको बढी संक्रमण भएको नगर हो । ५ दिन सम्म चल्ने अभियानका लागि साविकका गाविसलाई आधार मानेर बुथहरु बनाइएको र सो बुथमा स्वास्थ्यकर्मी सहित महिला स्वयंसेविकाहरुको सहयोगमा औषधी खुइने मण्डलले बताउनुभयो । बुथमा मात्रै नभएर घरघरमा पुगेर औषधी खुवाउने मण्डलले भनाइ छ ।