काठमाडौं । अनेरास्ववियूका नेता भुवन आचार्यले आफ्नो जन्मदिन काठमाडौंको सामाखुसीस्थित मानव सेवा आश्रममा मनाएका छन् । आफ्नो ३१ औं जन्म दिनमा आचार्यले मानव सेवा आश्रमलाई दुई लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरेका छन् ।
जन्मदिन मनाउन फजुल खर्च नगरी उनले मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् । त्यसक्रममा आचार्यले आश्रममा आश्रय लिएर बसिरहेका एक सय १० जनालाई खाना खुवाएका थिए भने नगद दश हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए ।
उनले आश्रमलाई आवश्यक पर्ने औषधि आगामी दिनमा तीन तीन महिनामा हस्तान्तरण गर्ने बताएका छन् । राजनीतिसँगै आचार्यले विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गर्नुका साथै असहायलाई सहयोग गर्दै आएका छन् ।
उनले जन्म दिनमा फजुल खर्च नगरी दीनदुःखीलाई सहयोग गर्न अरुलाई पनि प्रेरणा मिलोस् भनेर आफूले अभियान चलाएको बताएका छन् ।