नेपाली कांग्रेस बर्दगोरियाले वडास्तरमा पार्टीको संगठन बिस्तार अभियान थालेको छ । पार्टीलाई जनस्तरमा बलियो बनाउन कांग्रेस बर्दगोरियाले सक्रियता बढाएको हो । गाउँपालिका अन्तर्गतका ६ वटै वडाका विभिन्न टोलहरुमा टोल कमिटी गठन गर्दै पार्टीको संगठन बिस्तार गरिने कांग्रेस बर्दगोरियाले जनाएको छ ।
पार्टीका नेताकार्यकर्ताको क्रियाशिलतामा संगठन बिस्तार, पार्टी सुदृढीकरण र बिकास निर्माणमा जनताको सक्रियता बढाउने उद्देश्य सहित थालिएको अभियानका क्रममा बुधबार गाउँपालिकाको वडा नम्बर ६ को जगतपुर र बाँसकोटीमा टोल कमिटी गठन गरिएको छ ।
जगतपुरमा भागुराम डंगौराको सभापतित्वमा २३ सदस्यीय र बासकोटीमा दिजराज मिश्रको सभापतित्वमा २५ सदस्यीय कमिटी गठन गरिएको बर्दगोरिया सभापति गणेश शाहीले जानकारी दिए ।
कांग्रेसले अन्तर्कियासंगै सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माणकार्यमा सक्रियता बढाउने जनाएको छ ।
बुधबारदेखि सुरु भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता, महासमिति सदस्य कमलबहादुर शाह, महासमिति सदस्य दलवीर साउँद, बमबहादुर बम, पूर्वक्षेत्रीय सभापति देवानन्द जैसी, लम्कीचुहा नगर सभापति रामबहादुर बिष्ट, बर्दगोरिया सभापति गणेश शाही, क्षेत्रीय सदस्य सिद्धराज ढुंगाना, नेविसंघका नेता ललित जैसी लगायत नेताकार्यकर्ताको उल्लेखनीय सहभागिता रहेकोे थियो ।