कानुन पढ्न ४८ वर्षमा कक्षा एघार

कानुन पढ्न ४८ वर्षमा कक्षा एघार

केशव निरौला, पथरी

छोरा प्रतीक काठमाडौँको अमृत साइन्स क्याम्पसमा स्नातक तह (बि.एस्सी.) दोस्रो वर्षमा पढ्छन् भने जेठी छोरी प्रतिमा कक्षा ११ र कान्छी छोरी प्रतिज्ञा नै कक्षा आठमा पढ्छिन् । यी तीन सन्तानका ४८ वर्षीय बाबु आफैँ अहिले कक्षा ११ मा नियमित विद्यार्थीको रूपमा अध्ययनरत छन् भन्दा अलि अनौठो लाग्न सक्ला । तर, मोरङको पथरीशनिश्चरे”१ मा रहेको पञ्चायत माविमा अध्ययनरत छत्रबहादुर खड्काको वास्तविकता यस्तै छ ।

विद्यालयले यसै वर्षदेखि कक्षा ११ मा कानुन समूहका विषयहरू पठनपाठन गर्न थालेपछि २०२८ चैत्र २१ गते भोजपुरमा जन्मिएका छत्रबहादुरको जीवनले नयाँ मोड लिएको हो । काठमाडौँकै पशुपति माविबाट २०४७ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि ठप्पप्रायः रहेको उनको उच्च शिक्षा अध्ययनको यात्रा बल्ल यसवर्षदेखि पुनः अगाडि बढेको छ । २०५३ सालमा रूपा कार्कीसँग विवाह बन्धनमा बाँधिएका छत्रबहादुर ५ वर्षसम्म भारतको नयाँ दिल्लीमा रेक्युरिटी गार्ड भएर रहे भने केही वर्ष मलेसियामा रोजगारी गर्नसमेत गए । मलेसियाबाट फर्केपछि सन्तानको लालनपालन र शिक्षादीक्षामा समय बिताउन थालेका खड्काले पछिल्लो समयमा लेखापढीको व्यवसाय अँगाल्दै आएका छन् । वर्तमान जीवन अवस्था र अध्ययन सन्दर्भ समेट्दै छत्रबहादुर भन्छन्– ‘मैले त एक प्रकारले औपचारिक अध्ययनलाई इतिश्री गरिसकेको थिएँ तर घरनजिकै कक्षा ११ मै कानुन विषय पढ्ने मौका आउँदा पुनः निरन्तरता दिएको हुँ । साधारण लेखापढी गर्नुभन्दा पनि पछि अधिवक्ता बन्ने चाहना राखेर सधैँ विद्यालय आई अध्ययन गरिरहेको छु ।’

पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ४ मा लेखापढी गर्दै आएका स्थानीयवासी छत्रबहादुरको भावी योजना भनेकै अधिवक्ता बन्ने छ । सन्तानलाई पढाउँदाको सन्दर्भमा पनि आफूप्रति पढ्ने भाव अझ जागेर आएको उनको कथन छ । अन्य विद्यार्थी सरह दैनिक बिहान ६ बजे पाँच किलोमिटरको साइकल यात्राबाटै खड्का पनि नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी बताउनुहुन्छ । प्रअ बुढाथोकी भन्नुहुन्छ–‘कानुन समूहको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरूमा कोही अन्य विषयमा स्नातक उत्तीर्णसमेत छन् भने दस जना विद्यार्थीको उमेर ३० वर्षभन्दा माथिको छ । यस्तै विद्यार्थीमध्येका छत्रबहादुर पनि एक हुन् जसले जीवनमा अध्ययनको महत्त्व बुझेको छ ।’

अध्ययनलाई उमेरसँग तुलना गरिनु हुन्न र सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने बुझाइमा अगाडि बढेका छत्रबहादुर खड्कालाई आफ्ना सन्तान सरहका विद्यार्थीसँगै बसेर पढ्नमा कुनै पनि प्रकारको अप्ठ्यारो छैन । बरु, उमेरको हिसाबमा अरूको अभिभावकजस्तो भएकाले सबै विद्याथीमाझ अध्ययनको मियो उनेको छत्रबहादुरको कथन छ ।

पूर्वी मोरङमै सामुदायिक विद्यालयतर्फ पहिलो पटक पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माविले यस वर्षदेखि सुरु गरेको कानुन समूहको अध्ययनमा विद्यार्थीको अत्यधिक आकर्षण छ । अधिकतम ५५ जना विद्यार्थीलाई मात्र भर्ना गर्ने भनिए पनि विद्यार्थीको चाप बढ्दा अहिले ७० जनाको सङ्ख्यामा विद्यार्थी भर्ना भएको विद्यालय स्रोतले जानकारी दिएको छ । कानुनसँगै यहाँ विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, मानविकी र शिक्षा समूहको पढाइ हुने गरेको छ ।

सम्बन्धित खवर