आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै

आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै

उदयपुर । उदयपुर सहित तराईका जिल्लाहरुमा सबैभन्दा पुरानो यातायातको साधन हो गोरुगाडा । दुई दशकअघि गाउँघरमा आवतजावतका लागि एक मात्र सवारी साधनका रुपमा रहेको गोरुगाडा (बयलगाडा) पछिल्लो समय हराउँदै गएको छ । सबारी साधनसँगै कृषिजन्य सामग्रीको ढुवानीका लागि प्रयोग गरिने गोरुगाडा आधुनिक साधन भित्रिएसँगै विरलै देखिन थालेका छन् । विगतमा घरमै निर्मित भरपर्दो साधन काठे गोरुगाडालाई ट्याक्टर र अन्य सवारी साधनले विस्थापित गराएको हो ।

जतिबेला तराईमा मोटर गाडीको चलन आइसकेको थिएन, त्यो बेला सामान ढुवानीका लागि गोरुगाडा वा राँगागाडाको विकल्प थिएन् । हरेक किसान र व्यापारीसँग घर घरमा गाडा हुन्थे । किसानहरु खेतमा गोबर मल लैजान, पाकेको बाली भित्र्याउन यिनै गाडाको प्रयोग गर्थे ।
यात्रा गर्दा समेत गोरुगाडी, राँगागाडीको प्रयोग हुन्थ्यो । पहिला–पहिला बिहेमा जन्ती लैजान र बेहुला–बेहुली बोक्न समेत गोरुगाडाको प्रयोग गर्ने चलन रहेको त्रियुगा नगरपालिका ३ मोतिगडा निवासी शंकर लाल चौधरी सम्झन्छन् । यो सँगै जनावरले तान्ने गाडीहरु प्रायः लोप भएका छन् । राँगागाडी वा गोरुगाडी बनाउने कालीगढको समेत अहिले अभाव रहेको चौधरी बताउँछन् । गोरुगाडालाई तान्न गोरु, राँगोसमेतलाई अप्ठ्यारो हुनुका साथै ढुवानी गर्दा कम सामग्री अट्ने, काठको अभाव लगायतका कारणले यसको प्रयोग घट्दै गएको उनको भनाई छ । विशेष गरी गाउँमा काठे गोरुगाडाको प्रयोग हुने गरेको थियो ।

आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि गोरुगाडा हराउँदै गएको थारु पण्डित बासुदेव चौधरी बताउँछन् । विगतमा लामो तथा छोटो दुरीका यात्रामा गोरुगाडा कुदाएको स्मरण गर्दै उनले भने, जमाना धेरै अगाडी बढिसक्यो, अहिले घर घरमा मोटर साइकल, ट्याक्टर र अन्य आधुनिक गाडीहरु आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । गोरुगाडा वा राँगागाडा अब इतिहास भइसकेको छ । मोटरसाइकल, कार, जिप, बस, ट्रक हुँदै बिभिन्न सवारी साधन सहज रुपमा उपलब्ध हुन थालेको छ ।
त्यस्तै गोरुगाडा बनाउने काठ समेत सहजै उपलब्ध हुँदैन । जसका कारण दिनानुदिन ईतिहास सम्झाउने पुरानो सवारी साधन गोरुगाडा लोप हुँदै गएको छ तर लोपोन्मुख अबस्थामा रहेको गोरुगाडाको अहिले संरक्षण हुन नसक्दा गाउँ घरमा त्यसै फालिएका छन् । नेपालको मात्र नभई विश्वकै पुरानो सवारीको साधनका रुपमा रहेको गोरुगाडाको संरक्षण गर्नुपर्ने देखिन्छ ।

तराईमा सबैभन्दा पुरानो सवारीसाधनको रुपमा गोरु गाडा वा पाडाको समेत प्रयोग गरिन्छ । तर पछिल्लो समय अझै पनि गाँउघरमा खोजेमा घरको कुनाकाप्चीमा प्रयोग विहिन अवस्थामा काठे गाडा पाउने गरेपनि प्रयोग भने लगभग शुन्य प्राय छ । टायरगाढा अझै पनि एकहात प्रयोगमा आउने गरेपनि काठले बनेका काठेगाडा पाउन मुस्किल छ ।

सम्बन्धित खवर