कोरोना भाइरसका कारण ओलाङचुङगोला नाका बन्द

कोरोना भाइरसका कारण ओलाङचुङगोला नाका बन्द

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो।
माघ १६ मा चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए।
‘आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘हाल आवतजावत पनि भएको छैन।’
नाका बन्द हुँदा एक÷दुई महिनासम्म कुनै समस्या नहुने तर त्योभन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ।
बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन्। बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन्।

सम्बन्धित खवर