धनकुटामा सिडियो र एसपी नै सार्वजनिक यातायातको अनुगमनमा निस्के

धनकुटामा सिडियो र एसपी नै सार्वजनिक यातायातको अनुगमनमा निस्के

स्थानीय प्रशासनले यातायातका साधनमा अनुगमन तीव्र बनाएको छ । सवारी साधनमा ज्येष्ठ नागरिकप्रति अपमान बढेको गुनासो आएपछि धनकुटाको स्थानीय प्रशासनले अनुगमन गर्न थालेको हो ।
ज्येष्ठ नागरिकले सवारीसाधनमा सरकारले दिने भनेको छुट तथा आरक्षण खोज्दा अपमानित हुनुपरेको गुनासो बढेपछि अनुगमन सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुर्दशन कोइरलासहितको टोली आफै सडक पुगेर अनुगमन सुरु गरेका छन् ।
अनुगमनको क्रममा सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, जेष्ठ नागरिकले पाउने छुट दिए नदिएको विषयमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
अनुगमन टोलीले आरक्षण सिटमा सम्बन्धित मानिसलाई मात्र राख्न र जेष्ठ नागरिकले पाउने छुट दिन व्यवसायीहरुलाई सचेत गराएर सवारी साधन छोडिएको छ ।
जेष्ठ नागरिकले सरकारले सार्वजानिक यातायातमा दिने भनिएको ५० प्रतिशत भाडा छुट नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा केही समय अगाडी ज्ञापन पत्र बुझाएका थिए ।

सम्बन्धित खवर