एमसीसी विरुद्ध देशैभर विरोध सभा गर्ने नौ दलको घोषणा

एमसीसी विरुद्ध देशैभर विरोध सभा गर्ने नौ दलको घोषणा

विराटनगर, नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा क्रान्तिकारी माओवादी लगायतका नौ दलले हाल चर्चामा रहेको एमसीसी र भारतले गरेको सीमा अतिक्रमण विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । माघ २४ गते संयुक्त रुपमा विरोध गरिने विराटनगरमा आयोजित एक कार्यक्रममा जनाइएको हो ।

नेकपा ९मसाल० का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको नौ दलको बैठकले यही माघ २४ गते सातै प्रदेशमा विरोध सभाको गर्ने निर्णय गरेको जनाइएको छ। काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा हुने संयुक्त वक्तव्यमा उल्लेख छ।

‘भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताका विरुद्ध संघर्ष भइरहेको स्थितिमा उक्त संघर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन’ संयुक्त कार्यक्रमको घोषणा गरिएको जनाइएको छ।

यस्तै वक्तव्यमा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अंगको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध रहेको ठहर गरेको जनाइएको छ । सो सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्नुका साथै सम्झौतालाई संसदबाट अनुमोदन नगर्न पनि आह्वान गरिएको छ।

संयुक्त वक्तव्यमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी–माओवादी) का महासचिव मोहन बैद्य (किरण), नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले र राष्ट्रिय जागरण परिषद्का सहसंयोजक महेन्द्र शर्माको हस्ताक्षर छ।

सम्बन्धित खवर