कक्षा कोठाको अभावमा खुल्ला आकास मुनी चौरमा पढ्न बाध्य विद्यार्थीहरु

कक्षा कोठाको अभावमा खुल्ला आकास मुनी चौरमा पढ्न बाध्य विद्यार्थीहरु

सिन्धुलीको गोलन्जोर गाँउपालिका–१ च्याकुटार बेसींस्थित सुनकोसी प्राथमिक विद्यालयका कक्षा २ का विद्यार्थीहरु खुल्ला चौरमा पढ्दै ।

च्याकुटारबेसीं (सिन्धुली),२१माघ – गोलन्जोर गाँउपालिका–१ च्याकुटार बेसींस्थित सुनकोसी प्राथमिक विद्यालयका विद्यार्थीहरु कक्षा कोठाको अभावमा खुल्ला आकास मुनी चौरमा पढ्न बाध्य भएका छन् ।

२०७२ सालमा आएको भुकम्पले ढुंगामाटोले बनाएको पाँच कोठे भवन भत्काएपछि विद्यार्थीहरुलाई कक्षा कोठाको अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद न्यौपानेका अनुसार कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ५७ जना विद्यार्थी अध्यनरत छन् ।

भुकम्पपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत दुई कोठे टिसियल भवन निर्माण गरिएपनि कक्षा कोठाको अभाव हट्न नसकेको उहाँले बताउनुभयो । प्रअ न्यौपानेले भन्नुभयो, “कक्षा कोठाकै अभावमा अहिले बाहिर चौरमा छ ठाँउमा विद्यार्थीलाई भेला गरी पढाउदै आएका छौ । हिउदको मौसममा जसोतसो गुजरा चलाए पनि बर्षादको मौसममा भने कठिन हुदै आएको छ ।”

दुईवटा कोठामा कार्यालय सहित छ वटा कक्षाको पढाई सञ्चालन गर्नु पर्दा निकै समस्या हुने गरेको उहाँको गुनासो छ । विद्यालयका अनुसार पहिले ढुंगामाटोले बनाएको भवन भुकम्पले चर्काएपछि प्राविधिकहरु आएर चेकजाँच गर्दा नबस्नु भनेपछि कक्षा कोठाको अभाव सुरु भएको हो ।

उक्त विद्यालयमा स्थानीय बालबालिका सहित छिमेकी फिक्कल गाँउपालिका, रामेछाप जिल्लाको मसली घाट र ओखलढुंगा जिल्लाको नबलपुर गाँउका बालबालिका नियमित रुपमा पढ्न आउने बालकक्षाकी सहयोगी कार्यकर्ता गंगादेवी दाहाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “टिसियल भवन परेपछि बाँसको टाटीले बेरेर पढाएका थियौं । हावापानीले पढाउन कठिन भएपछि अहिले ईटा लगाएर घेराबेरा गरी काम चलाएका छौं ।” अहिले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले दुई तले चार कोठाको पक्कि भवन दिएको भएपनि निर्माण पुरा गर्न अझै केही समय लाग्ने उहाँको भनाई छ ।

२०५३ सालमा शिक्षा कार्यालयबाट अनुमती लिएर स्थापना गरिएको उक्त विद्यालयमा बढी मात्रामा जनजाति र सिमान्तकृत वर्गका बालबालिका पढ्न आउने सहयोगी कार्यकर्ता दाहालले जानकारी दिनुभयो ।

विद्यालयमा अहिले तीन जना शिक्षक, एक÷एक जना सहयोगी कार्यकर्ता र कार्यालय सहायक गरी पाँच जना कार्यरत रहेका छन् । प्रधानाध्यापक न्यौपानेका अनुसार बाल कक्षामा १५, कक्षा १ मा १७, कक्षा २ मा सात, कक्षा ३, ४ र ५ मा छ÷छ जना बालबालिका अध्ययनरत रहेका छन् ।

सम्बन्धित खवर